४७ बैंक-वित्तीय संस्थाद्वारा १ खर्ब ६२ अर्ब शेयर कर्जा प्रवाह: बजारमा छैन रौनक, कहाँ गइरहेको छ पैसा ?

५ असार २०८३, शुक्रबार ११:४७

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा वृद्धि देखिए पनि त्यसको प्रभाव पूँजीबजारमा देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा आधारित कर्जा लगानी बढाएका छन् ।

चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ४७ वटा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरुले १ खर्ब ६२ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा लिएका छन् । उक्त शेयर धितो कर्जा गत आर्थिक वर्षको १० महिनासम्मको अवधिको तुलनामा ४.०१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५६ अर्ब २७ करोड ९३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका थिए । बढ्दो लगानीसँगै बैंकिङ प्रणालीबाट पूँजीबजारतर्फ तरलता प्रवाह भइरहेको संकेत देखिए पनि दोस्रो बजारको वास्तविक अवस्था भने त्यसअनुरूप उत्साहजनक छैन ।

शेयर धितो कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक नीतिअनुसार व्यक्तिको स्वामित्वमा रहेका सूचीकृत शेयर वा भविष्यमा खरिद गरिने शेयरलाई धितो मानेर कर्जा उपलब्ध गराउने व्यवस्था छ । लगानीकर्ताले आफ्नो नाममा रहेको शेयर धितो राखेर कर्जा लिन सक्ने भए पनि उक्त रकमको प्रयोगमा कुनै विशेष सीमा छैन । यही कारण कर्जाको ठूलो हिस्सा पुनः शेयर खरिदमा मात्र प्रयोग भइरहेको छ भन्ने आधार देखिँदैन । पछिल्लो समय धितोपत्र बजारमा सहभागी लगानीकर्ताको संख्या बढ्दै गए पनि नेप्से परिसूचक र दैनिक कारोबार रकमले त्यसको प्रत्यक्ष प्रभाव महसुस गर्न सकेको छैन । दैनिक कारोबार रकम अघिल्ला वर्षहरूको तुलनामा संकुचित अवस्थामै रहेको छ भने बजारले स्पष्ट दिशासहितको गति लिन सकेको छैन ।

नयाँ सरकार गठनपछि लगानीकर्ताले पूँजीबजार सुधार, नीतिगत स्थिरता तथा लगानीमैत्री वातावरणको अपेक्षा गरेका थिए । तर अपेक्षाअनुसार नीतिगत सुधार नआउँदा र विभिन्न निर्णयमा अन्योल कायम रहँदा लगानीकर्ताको विश्वास अझै बलियो बन्न सकेको छैन। बजारमा देखिएको यही मनोवैज्ञानिक दबाबका कारण शेयर धितोमा लिइएको कर्जाको सम्पूर्ण रकम पूँजीबजारमै प्रवेश नगरेको अनुमान गरिएको छ ।

यसअवधिमा २० बैंक तथा वित्तीय संस्थाको शेयर धितोकर्जा घटेको छ भने २७ वटाको वृद्धि भएको छ ।

सर्वाधिक शेयर धितो कर्जा दिनेमा नबिल बैंक अघि रहेको छ । बैंकको शेयर धितोकर्जा १.२९ प्रतिशतले बढेर १७ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो ।

साथै, ग्लोबल आइएमई बैंकको शेयर धितोकर्जा ७.७२ प्रतिशतले बढेर १४ अर्ब ४६ करोड, कुमारी बैंकको ३.७८ प्रतिशतले बढेर १० अर्ब ९१ करोड, प्राइम बैंकको ३.०४ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड, लक्ष्मी सनराइज बैंकको ०.२७ प्रतिशतले घटेर ९ अर्ब ५० करोड, सिद्धार्थ बैकको २.३८ प्रतिशतले बढेर ९ अर्ब ६ करोड, कृषि विकास बैंकको ६.८० प्रतिशतले बढेर ८ अर्ब ७० करोड, ८ अर्ब ७० करोड, राष्ट्रिय वाणिज्य बैंकको ४.४४ प्रतिशतले बढेर ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

कुनको कति ? हेर्नुहोस् तथ्याङ्ग

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*