निर्जीवन बीमा कम्पनीहरूको महाविपत्ति कोषमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चिति, कुन कम्पनीको कति?

५ असार २०८३, शुक्रबार १२:०५

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको महाविपत्ति कोषमा जम्मा रकम २ अर्ब २० करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष २ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको थियो। यसरी एक वर्षमा महाविपत्ति कोषको आकार ३.६६ प्रतिशतले वृद्धि भएको देखिएको छ।

निर्जीवन बीमा कम्पनीहरूले प्राकृतिक विपत्ति, भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका ठूला तथा अप्रत्याशित जोखिमबाट उत्पन्न हुन सक्ने दाबी भुक्तानी व्यवस्थापनका लागि महाविपत्ति कोषमा रकम छुट्याएर राखेका हुन्छन्। यो कोषले ठूलो क्षति हुने अवस्थामा बीमा कम्पनीको वित्तीय स्थायित्व कायम राख्न र बीमितलाई दाबी भुक्तानी गर्न सहयोग पुर्‍याउँछ। सामान्य अवस्थामा बीमा कम्पनीले प्राप्त गरेको प्रिमियमबाट दाबी भुक्तानी गर्ने गर्छन् तर कुनै ठूलो प्राकृतिक वा मानवनिर्मित विपत्तिका कारण एकैचोटि ठूलो मात्रामा दाबी परेमा कम्पनीको वित्तीय अवस्थामा व्यापक दबाब पर्न सक्छ। यस्तो अवस्थामा महाविपत्ति कोषले आर्थिक सुरक्षा प्रदान गर्छ।

तथ्यांकअनुसार महाविपत्ति कोषमा सबैभन्दा धेरै रकम राष्ट्रिय बीमा कम्पनीको रहेको छ। कम्पनीको कोषमा चैत मसान्तसम्म ७० करोड ६७ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ। अघिल्लो वर्ष सो रकम ६९ करोड २२ लाख ७४ हजार रुपैयाँ थियो। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २३ करोड १८ लाख ६८ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २२ करोड ६७ लाख ६२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सको १७ करोड २ लाख ६६ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १६ करोड ४६ लाख ८२ हजार रुपैयाँ महाविपत्ति कोषमा सञ्चित रहेको छ।

यस्तै नेपाल इन्स्योरेन्सको ११ करोड ७४ लाख ५८ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सको ११ करोड १८ लाख ५२ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ६१ लाख ५२ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ८ करोड ८३ लाख ३७ हजार रुपैयाँ सञ्चिति रहेको छ। त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड ७७ लाख २३ हजार रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सको ७ करोड ६७ लाख ३० हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ८५ लाख ९ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४ करोड ७० लाख १६ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सको ३ करोड १८ लाख ७२ हजार रुपैयाँ महाविपत्ति कोषमा रहेको छ।

वृद्धिदरका आधारमा हेर्दा ओरियन्टलले सबैभन्दा धेरै २१.१३ प्रतिशत वृद्धि गरेको छ। त्यसपछि प्रभुले १०.४४ प्रतिशत, हिमालयन एभरेष्टले ६.७३ प्रतिशत, सलिकोले ६.२४ प्रतिशत, सानिमा जीआईसीले ५.५९ प्रतिशत र नेपाल इन्स्योरेन्सले ४.७३ प्रतिशतले कोष वृद्धि गर्न सफल भएका छन्। त्यसैगरी शिखर इन्स्योरेन्स २.१९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी २.०९ प्रतिशत, एनएलजी इन्स्योरेन्स २.०१ प्रतिशत, नेको इन्स्योरेन्स १.८५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १.७६ प्रतिशत तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ०.३६ प्रतिशतले वृद्धि गरेका छन्। उता युनाइटेड अजोड इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको महाविपत्ति कोष भने अघिल्लो वर्षकै स्तरमा स्थिर रहेको वित्तीय विवरणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*