शेयर बजारमा झिनो सुधारः लगानीकर्तामा छैन विश्वास, अर्थमन्त्री वाग्लेसँग छन् त्रसित !

५ असार २०८३, शुक्रबार १५:०५

काठमाडौँ । पछिल्ला दिनमा नेपाली शेयर बजार निरन्तर दबाबमा देखिएको छ । बजार सूचक लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको छ भने कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ । बजारमा सहभागिता घट्दै जानुका साथै समग्र पूँजी बजारमा निराशाको वातावरण गहिरिँदै गएको विश्लेषण गरिएको छ ।

बजारमा देखिएको गिरावटसँगै लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । ठूलो मात्रामा पूँजी गुमाएको अनुभव गरेका साना तथा मझौला लगानीकर्तामा अनिश्चितता बढेको छ । लगातारको रातो सूचकले दीर्घकालीन लगानीभन्दा तत्काल नाफा सुरक्षित गर्ने प्रवृत्तिलाई बल पु¥याएको देखिन्छ, जसले बजारमा थप अस्थिरता सिर्जना गरेको छ ।

राजनीतिक नेतृत्व परिवर्तनपछि सुधारको अपेक्षा गरिएको भए पनि त्यसअनुसारको ठोस परिणाम नदेखिँदा बजारमा विश्वास पुनः स्थापित हुन सकेको छैन । नीतिगत सुधारका प्रयासहरू भए पनि तिनको प्रभाव तत्काल नदेखिँदा लगानीकर्तामा धैर्य घट्दै गएको छ । यसले समग्र पूँजी बजारलाई स्थायित्वतर्फ लैजाने प्रयासलाई चुनौती थपेको छ ।

यता, ठूला लगानीकर्ताहरू क्रमशः बजारबाट बाहिरिने प्रवृत्ति देखिँदा बिक्री चाप बढेर आपूर्ति उच्च भएको छ । नाफा सुरक्षित गर्ने उद्देश्यले भएको व्यापक बिक्रीले मूल्यमा थप गिरावट ल्याएको छ । साथै कर प्रणाली, पुँजीगत लाभकर तथा नियामक नीतिसम्बन्धी अस्पष्टताले पनि बजारमा अनिश्चितता बढाएको छ ।

यसैबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा बोल्दै शेयर बजारको दैनिक उतार–चढावभन्दा सरकार दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । उनले पूँजी बजारमा देखिएको वर्तमान विचलनलाई विगतका अनियमितता र अनुसन्धानको प्रभावसँग जोड्दै गभर्नेन्स सुधारमार्फत बजारलाई ट्र्याकमा ल्याइँदैछ भन्ने धारणा राखे । लगानीकर्तामा देखिएको ‘वेट एन्ड सी’ प्रवृत्तिलाई नीतिगत सुधार र बजेटका प्रारम्भिक नतिजाले तोड्ने उनको विश्वास थियो ।

उनले कर नीतिलाई पनि बजारसँग जोड्दै उच्च कर दरले लगानी आकर्षण घटाउने र कर छली प्रवृत्ति बढाउने बताए । करको दायरा घटाउँदा स्वैच्छिक अनुपालन बढ्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो । अर्थमन्त्रीको यस्तो धारणा सार्वजनिक भइरहँदा लगानीकर्तामा भने तत्काल बजार सुधार हुने अपेक्षा अझै कमजोर देखिएको छ, जसले शेयर बजारमा जारी दबाबलाई निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अकंले घटेर २७०२.११ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ उपसूचकमा सुधार आएको छ भने ६ उपसूचक ओरालो लागेको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ । १७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*