बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ।
चिडियाखाना व्यवस्थापनका अनुसार बर्डफ्लु पुष्टि भएसँगै आवश्यक स्वास्थ्य तथा जैविक सुरक्षा मापदण्ड अपनाउने कार्य सुरु गरिएको छ। संक्रमण नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने पनि सूचनामा उल्लेख गरिएको छ।
चिडियाखाना कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्ने विषय संक्रमणको अवस्था, प्राविधिक मूल्यांकन र सम्बन्धित निकायको सिफारिसका आधारमा तय गरिने जनाइएको छ।
गत चैतमा कोशी प्रदेश मा पहिलोपटक देखिएको बर्डफ्लु संक्रमण हालसम्म देशका १० जिल्लामा फैलिसकेको छ। पछिल्ला महिनाहरूमा विभिन्न स्थानमा कुखुरा तथा चराचुरुंगीमा संक्रमण पुष्टि हुँदै आएको छ।












