घुस लिँदै रंगेहात समातिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

५ असार २०८३, शुक्रबार १६:१५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। त्यसक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट यादवले सडक ढलान योजना सञ्चालनका लागि सम्झौता भई सम्झौताअनुसारको काम सम्पन्न भइसकेपछि भुक्तानी प्रक्रियामा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिम कसुर गरेको ठहर गर्दै ७२ हजार रुपैयाँ बिगो कायम गरेको छ। सोही ऐनको दफा ३ उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै बिहीबार विशेष अदालत मा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*