आइएमई लाइफको रेटिङ ‘ए माइनस’ मा स्तरोन्नति, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा मजबुत

७ असार २०८३, आईतवार ११:२९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङमा सुधार आएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको जारीकर्ता साख मूल्याङ्कन ‘बीबीबी प्लस’ बाट स्तरोन्नति गर्दै ‘ए माइनस’ कायम गरेको हो । यस सुधारसँगै कम्पनीलाई नेपालमा आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षित मानिएको छ भने कम्पनीमा न्यून साख जोखिम रहेको मूल्याङ्कन गरिएको छ ।

केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार कम्पनीको साखस्तर सुधार हुनुको प्रमुख कारण व्यवसायको आकारमा आएको विस्तार, कुल आर्जित बीमा शुल्कमा भएको उल्लेखनीय वृद्धि तथा कम्पनीले आफ्नो औसत वृद्धिदरभन्दा राम्रो प्रदर्शन गर्नु रहेको छ । आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीले वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको पनि मूल्याङ्कनमा उल्लेख गरिएको छ ।

कम्पनीको नाफामुखी अवस्था निरन्तर सुदृढ हुँदै गएको, बीमा पोलिसी निष्क्रिय हुने दर नियन्त्रणमा रहेको, अभिकर्ता कमिसन खर्च तथा सञ्चालन खर्चको अनुपात व्यवस्थित रहेको र लगानीबाट प्राप्त आम्दानी निरन्तर बढ्दै गएको अवस्थाले पनि साखस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको देखिएको छ । कम्पनीको दायित्व वहन क्षमता पर्याप्त रहेको र अघिल्लो अवधिको तुलनामा थप सुधारिएको समेत मूल्याङ्कनमा जनाइएको छ । नियामकीय रूपमा आवश्यक न्यूनतम सीमाभन्दा माथि रहँदै कम्पनीले सहज अतिरिक्त सुरक्षा घेरा कायम राखेको छ ।

कम्पनीको अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, लगानी पोर्टफोलियोको सन्तोषजनक सम्पत्ति गुणस्तर, पर्याप्त पुनर्बीमा व्यवस्था, देशव्यापी शाखा सञ्जाल तथा विस्तार हुँदै गएको अभिकर्ता सञ्जाललाई पनि साखस्तर सुधारका प्रमुख सकारात्मक पक्षका रूपमा लिइएको छ । बीमाशुल्क सङ्कलनमा तीव्र वृद्धि, दाबी व्यवस्थापनमा सुधार, खर्च नियन्त्रण, बलियो बीमा व्यवसाय नतिजा तथा स्थिर नाफाका कारण कम्पनीको वित्तीय अवस्था थप मजबुत बन्दै गएको देखिएको छ ।

आगामी दिनमा कम्पनीले व्यवसाय विस्तारको वर्तमान गति कायम राख्दै विभिन्न प्रकारका बीमा योजनामा विविधीकरण गर्न सक्ने क्षमता, लगानी पोर्टफोलियोको गुणस्तर निरन्तर सुदृढ राख्ने क्षमता तथा नियामकीय दायित्व वहन क्षमतामा पर्याप्त सुरक्षा घेरा कायम राख्ने अवस्थालाई पनि मूल्याङ्कनका प्रमुख आधारका रूपमा लिइने केयर रेटिङ्स नेपाल लिमिटेडले जनाएको छ ।

कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन पर्याप्त सञ्चिति कोष तथा पुनर्बीमा व्यवस्था कायम गरेको छ । कम्पनीले बीमा व्यवसायबाट उत्पन्न हुन सक्ने जोखिमलाई व्यवस्थित रूपमा बाँडफाँट गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पुनर्बीमा सम्झौता गरेको छ । नियामकीय व्यवस्थाअनुसार कम्पनीले आफ्नो बीमा जोखिमको ४–४ प्रतिशत हिस्सा प्रत्यक्ष रूपमा यी दुवै पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएको छ । त्यसैगरी अतिरिक्त जोखिम व्यवस्थापनका लागि विशेष पुनर्बीमा व्यवस्था अन्तर्गत जोखिम धारण सीमाभन्दा माथिको जोखिममध्ये ८५ प्रतिशत हिस्सा नेपाल पुनर्बीमा कम्पनी र १५ प्रतिशत हिस्सा हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीले आधारभूत जीवन बीमा, सामूहिक तथा व्यक्तिगत म्यादी जीवन बीमा र दुर्घटना अतिरिक्त सुविधासम्बन्धी जोखिममा प्रति बीमित ४ लाख रुपैयाँसम्मको जोखिम आफैंले वहन गर्ने नीति अपनाएको छ । सो सीमाभन्दा माथिको जोखिम पुनर्बीमा कम्पनीहरूलाई हस्तान्तरण गरिन्छ । ठूलो प्राकृतिक विपत्ति वा असामान्य घटनाबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनका लागि हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग विपद् पुनर्बीमा सम्झौता पनि गरिएको छ, जसअनुसार ४ लाख रुपैयाँभन्दा बढी दाबी रकममा पुनर्बीमा सुरक्षा उपलब्ध हुने व्यवस्था छ ।

कम्पनी कम्पनी ऐन २०६३ अन्तर्गत २०६५ असोज १५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको हो । त्यसपछि २०७४ असार २० गते तत्कालीन बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्राप्त गरेपछि कम्पनीले देशभर जीवन बीमा सेवा विस्तार गर्दै निरन्तर व्यवसाय वृद्धि गर्दै आएको छ । कम्पनीले व्यक्तिगत तथा सामूहिक जीवन बीमा लगायत विभिन्न प्रकारका जीवन बीमा योजनामार्फत सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका प्रमुख शेयरधनीमध्ये चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको करिब ११–११ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी ग्लोबल आईएमई बैंक लिमिटेडको पनि करिब १० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष डा. रामहरि अर्याल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का रहेका छन् ।

२०८३ वैशाख मध्यसम्म कम्पनीका २३ वटा शाखा कार्यालय र १३५ वटा उपशाखा कार्यालय सञ्चालनमा रहेका छन् । यी शाखा तथा उपशाखा कार्यालयहरू नेपालका सबै सातै प्रदेशमा फैलिएका छन्, जसले कम्पनीलाई देशभरका ग्राहकसम्म सहज रूपमा पुग्न सहयोग पुर्‍याएको छ । सो अवधिसम्म कम्पनीसँग देशभर फैलिएको ४७ हजार ८२३ जनाको बीमा अभिकर्ता सञ्जाल रहेको छ, जसले बीमा सेवाको पहुँच विस्तार, नयाँ ग्राहक आकर्षण तथा बीमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

देशका विभिन्न भूभागमा फैलिएको शाखा तथा उपशाखा सञ्जाल कम्पनीका लागि व्यावसायिक रूपमा महत्वपूर्ण बलियो पक्ष मानिएको छ । यसले बजार विस्तार, सेवा प्रवाह, ग्राहकसँग प्रत्यक्ष सम्बन्ध सुदृढीकरण, ब्रान्ड पहिचान अभिवृद्धि तथा नयाँ व्यवसाय विस्तारमा प्रतिस्पर्धात्मक लाभ प्रदान गरेको छ । २०८३ वैशाख ३१ गतेसम्म कम्पनीको कुल सम्पत्ति २४ अर्ब ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*