निहुँ खोज्नुपरे खोजिन्छ, सरकारी सम्पत्तिको दोहन भएको छ भने छानबिन हुनुपर्छ : बालेन शाह

७ असार २०८३, आईतवार १७:५१

काठमाडौं । बालेन शाहले विगतमा सरकारी सम्पत्तिको दोहन भएको विषयमा आवश्यक परे छानबिनका लागि ‘निहुँ खोज्नुपर्ने’ अवस्था आए पनि पछि नहट्ने बताएका छन्। उनले आफूहरू प्रतिशोधको राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै विकास र सुशासनका लागि आवश्यक भए विगतका अनियमिततामाथि अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै शाहले विगतमा भएका फट्याइँ र सरकारी सम्पत्तिको दोहनबारे खोजी गर्नु आवश्यक भएको बताए। उनले कानुन र नियमको परिधिभित्र रहेर मात्रै काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

“निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ। हामी नियमभन्दा बाहिर जाँदैनौँ,” उनले भने।

सम्बोधनको सुरुवात ‘नमस्ते’ गर्दै हल्का ठट्टापूर्ण शैलीमा गरेका शाहले “नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ” भन्दै प्रतिनिधि तथा विशिष्ट अतिथिलाई सम्बोधन गरेका थिए। रास्वपा सभापति रवि लामिछानेसहितको मञ्चमा उनले देश बनाउने तीव्र चाहना र सानो महत्वाकांक्षाले नै नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गरे।

उनले अहिलेको मुख्य आवश्यकता नयाँ राजनीतिक शक्तिहरूलाई संस्थागत र स्थापित गर्नु रहेको बताए। “हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो,” उनले भने, “हामी प्रतिशोध साँध्ने, पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइनौँ। तर अगाडि बढ्दै गर्दा निहुँ खोज्नै पर्ने अवस्था आयो भने खोजिन्छ। विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यसको खोजी हुन जरुरी छ।”

विभिन्न राजनीतिक दलका नेताहरूले नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति व्यक्त गरेका चिन्ता र सुझावप्रति पनि प्रधानमन्त्री शाहले जवाफ दिएका थिए। सरकार सञ्चालनलाई गाडीसँग तुलना गर्दै ‘एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुन्छ’ भन्ने टिप्पणीप्रति लक्षित गर्दै उनले आफूहरूको यात्रा सामान्य सडकको नभई परिवर्तनको तीव्र गतिमा अघि बढिरहेको बताए।

“धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडीजस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ,” उनले भने, “त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो। यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।”

शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको आकांक्षा र ऊर्जा कसैले रोक्न नसक्ने दाबी गर्दै आफूहरूको राजनीतिक अभियान गन्तव्यमुखी रहेको बताए। उनले रास्वपाको प्रथम महाधिवेशनले पार्टीलाई अझ सुदृढ र संगठित बनाउने विश्वास व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*