सीमा विवादमा बालेनले भने: ‘ब्रिटेनलाई मध्यस्थ बनाउने होइन, भारतसँग प्रमाणका आधारमा छलफल गर्ने हो’

काठमाडौं । बालेन शाहले संसद्मा भारतसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल भारत सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ताका रूपमा ल्याउने आशय आफ्नो नभएको बताएका हुन्।
चितवनमा आयोजित कार्यक्रममा शाहले त्यसबारे प्रष्ट पार्दै भने, “हामीसँग कालापानी–लिपुलेकको प्रमाण छ। पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ। हामीले ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका होइनौँ।”
उनले नेपालले आफ्ना छिमेकी राष्ट्रहरूसँग प्रमाणका आधारमा संवाद गरी सीमा समस्या समाधान गर्ने बताए। “हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ,” उनले भने।
शाहले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न पनि आग्रह गरे। “मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन,” उनले भने।











