जीवन बीमा कम्पनीहरूको फर्स्ट प्रिमियम २७ प्रतिशत बढ्योः राष्ट्रिय जीवन बीमा, आइएमई र सिटिजनको उच्च वृद्धि

८ असार २०८३, सोमबार १३:५२

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख बिक्री गरेर संकलन गरेको फर्स्ट इयर प्रिमियम (सिंगल प्रिमियमसहित) उल्लेखनीय रूपमा बढेको छ। फर्स्ट इयर प्रिमियम भन्नाले नयाँ ग्राहकले बीमा गर्दा पहिलो पटक बुझाएको प्रिमियम रकमलाई जनाउँछ। यसमा एकमुष्ट भुक्तानी गरेर लिइने सिंगल प्रिमियम बीमाको रकमसमेत समावेश हुन्छ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल ३३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ फर्स्ट इयर प्रिमियम संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २६ अर्ब २१ करोड ९१ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसायबाट प्राप्त बीमाशुल्क (प्रिमियम) २७.९६ प्रतिशतले वृद्धि भएको देखिएको छ।

नयाँ व्यवसायबाट सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बनेको छ। कम्पनीले समीक्षा अवधिमा ८ अर्ब ६१ करोड ७० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ६ अर्ब १८ करोड ११ लाख रुपैयाँ संकलन गरेको थियो। कम्पनीको नयाँ व्यवसाय ३९.४१ प्रतिशतले बढेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। अघिल्लो वर्ष यस कम्पनीले ३ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ संकलन गरेको थियो। त्यसपछि एलआईसी नेपालले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब १० करोड ३८ लाख रुपैयाँ नयाँ व्यवसाय भित्र्याएका छन्।

त्यसैगरी आईएमई लाइफले १ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ७८ करोड ९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५५ करोड २० लाख रुपैयाँ र रिलाएबल नेपाल लाइफले १ अर्ब ५१ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यस्तै प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब १९ करोड १७ लाख रुपैयाँ र मेट लाइफले १ अर्ब १६ करोड २९ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गरेका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीले ९१ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४० करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो।

नयाँ व्यवसायको वृद्धिदरका आधारमा राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको फर्स्ट इयर प्रिमियम १२५.०९ प्रतिशतले बढेको छ। दोस्रो स्थानमा आईएमई लाइफ रहेको छ जसको वृद्धिदर ७२.७८ प्रतिशत छ। त्यसपछि सिटिजन लाइफ ३९.४४ प्रतिशत, नेपाल लाइफ ३९.४१ प्रतिशत, रिलायबल नेपाल लाइफ ३६.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ ३६.२४ प्रतिशत, एशियन लाइफ ३५.४१ प्रतिशत, एलआईसी नेपाल ३०.६८ प्रतिशत र नेशनल लाइफ २१.४३ प्रतिशत वृद्धिसहित अगाडि रहेका छन्।

त्यस्तै सूर्यज्योति लाइफको वृद्धिदर २०.२५ प्रतिशत, मेट लाइफको १८.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १७.५९ प्रतिशत तथा हिमालयन लाइफको ०.७२ प्रतिशत रहेको छ। समीक्षा अवधिमा सन नेपाल लाइफको मात्र नयाँ व्यवसाय घटेको छ। कम्पनीको फर्स्ट इयर प्रिमियम अघिल्लो वर्षको तुलनामा ३०.४८ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*