वित्तीय दबाबमा एनआईसी एशिया बैंकः रेटिङमा गिरावट, नेगेटिभ वाच कायमै

काठमाडौँ । एनआईसी एशिया बैंकको वित्तीय साखमा गम्भीर दबाब देखिँदै गएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकको जारीकर्ता रेटिङलाई पहिलेको आईआरएन बीबीबीबाट घटाएर आईआरएन बीबीबी माइनसमा पुर्याउँदै नकारात्मक असर रहने गरी रेटिङ वाचलाई निरन्तरता दिएको हो । यस्तो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा कमजोर र जोखिम बढ्दै गएको संकेत गर्छ ।
बैंकको नाफा संरचना गम्भीर दबाबमा परेको छ । आम्दानीको वृद्धि स्थिर हुन नसक्नु, लागत नियन्त्रण कमजोर हुनु र कर्जा नोक्सानी व्यवस्थापन खर्च तीव्र रूपमा बढ्नुले समग्र वित्तीय प्रदर्शनलाई नकारात्मक प्रभाव पारेको छ । कर्जा पोर्टफोलियोमा बढ्दो समस्या र असुलीमा देखिएको कमजोरीले बैंकको आय आधार खुम्चिँदै गएको छ । खराब कर्जाको स्तर उल्लेखनीय रूपमा बढ्दै गएको छ जसले बैंकको जोखिम प्रोफाइललाई कमजोर बनाएको छ । ढिलो भुक्तानी हुने कर्जाको हिस्सा पनि तीव्र रूपमा बढ्दा बैंकको कर्जा गुणस्तरमा गम्भीर प्रश्न उठेको छ ।
पुँजी पर्याप्तताको अवस्था पनि कमजोर देखिएको छ । नियामकीय न्यूनतम सीमाभन्दा नजिक वा तल पुगेका प्रमुख सूचकहरूले बैंकको विस्तार क्षमता सीमित बनाएको छ । यसले भविष्यमा कर्जा विस्तार र नयाँ लगानी गर्ने क्षमतालाई थप संकुचित बनाउने जोखिम देखिन्छ । कर्जा र निक्षेप दुवै घट्ने प्रवृत्तिले बैंकको कारोबार विस्तारमा सुस्तता आएको स्पष्ट हुन्छ । उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्न नसक्नु र कम प्रतिफल दिने सुरक्षित साधनतर्फ बढी झुकाव देखिनुका कारण आम्दानी क्षमता कमजोर बनेको छ । यसले ब्याज आम्दानीमा समेत निरन्तर दबाब सिर्जना गरेको छ ।

एनआईसी एसिया बैंक सन् १९९८ मा स्थापना भएको हो। मध्य–जुन २०२६ को तथ्याङ्कअनुसार बैंकसँग ३१६ वटा शाखा, १०४ वटा एक्सटेन्सन काउन्टर, ३३ वटा शाखारहित बैंकिङ सेवा र ६४३ वटा एटीएमहरू रहेका छन्। बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल हुन् भने प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य रहेका छन् ।











