रोकिएन शेयर बजारको राताम्यः दैनिक गुम्दै करोडौं लगानी, किन अर्थमन्त्रीमाथि अविश्वास ?

काठमाडौँ । धितोपत्र बोर्डले नयाँ अध्यक्षका रूपमा गोपाल भट्टको जिम्मेवारी पाए पनि नेपाली शेयर बजारमा अपेक्षित सुधार देखिन सकेको छैन । मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णयपछि नेतृत्व परिवर्तनसँगै बजारमा केही सकारात्मक संकेत देखिने अपेक्षा गरिएको भए पनि त्यसअनुसार सूचकमा सुधार नआउँदा लगानीकर्ताको निराशा कायमै रहेको छ ।
पछिल्ला दिनमा नेपाली शेयर बजार निरन्तर दबाबमा देखिँदै आएको छ । बजार सूचक लगातार ओरालो लाग्दा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको छ भने दैनिक कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ । बजारमा सहभागिता घट्दै जानु र खरिद चाप कमजोर हुनुले समग्र पूँजी बजारमा सुस्तता र अनिश्चितता गहिरिँदै गएको विश्लेषण गरिएको छ ।
बजारमा देखिएको निरन्तर गिरावटसँगै लगानीकर्ताको मनोबल पनि कमजोर बन्दै गएको छ । ठूलो मात्रामा पूँजी गुमाएको अनुभव गरेका साना तथा मझौला लगानीकर्तामा जोखिमप्रति सतर्कता बढेको छ । लगातारको रातो सूचकले दीर्घकालीन लगानीभन्दा तत्काल नाफा सुरक्षित गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिँदा बजारमा थप अस्थिरता सिर्जना भएको देखिन्छ ।
यसैबीच, ठूला लगानीकर्ताहरू बजारबाट क्रमशः बाहिरिने प्रवृत्ति देखिँदा बिक्री चाप बढेर आपूर्ति उच्च भएको छ । नाफा सुरक्षित गर्ने उद्देश्यले भएको व्यापक बिक्री दबाबले मूल्यमा थप गिरावट ल्याएको छ । कर प्रणाली, पुँजीगत लाभकर तथा नियामक नीतिसम्बन्धी अस्पष्टताले पनि बजारमा थप अनिश्चितता बढाएको भन्दै लगानीकर्ताले स्पष्ट नीतिगत दिशानिर्देशनको माग गरेका छन् ।
यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा बोल्दै शेयर बजारको दैनिक उतार–चढावभन्दा सरकार दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । उनले पूँजी बजारमा देखिएको वर्तमान दबाबलाई विगतका अनियमितता र अनुसन्धानको प्रभावसँग जोड्दै गभर्नेन्स सुधारमार्फत बजारलाई ट्र्याकमा ल्याउने सरकारको प्रयास जारी रहेको बताए । कर नीतिमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले कर दरको संरचनाले लगानी आकर्षणमा असर पार्ने र कर अनुपालन बढाउनेतर्फ नीति परिमार्जन आवश्यक रहेको धारणा राखेका छन् । तर यी अभिव्यक्तिका बाबजुद तत्काल बजारमा सुधार आउने अपेक्षा कमजोर देखिँदा शेयर बजारमा दबाब यथावत् रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४६ अकंले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको ८१ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य हुँदा ३ उपसूचकमा भने सुधार देखिएको छ । आज फाइनान्स कम्पनीको शेयर मूल्य १.०१ प्रतिशतले बढेको हो । साथै, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर मूल्य समेत बढेको छ ।
यता, ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












