मर्जर र हकप्रद प्रस्ताव सहित अभियान लघुवित्तको साधारणसभा आह्वान

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले असार ३० गते मंगलबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीले अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी कार्य अघि बढाउन समिति गठन गर्ने, मूल्यांकनकर्ताको नियुक्ति र पारिश्रमिक तोक्ने, मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका कार्य गर्न र नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ।
त्यसैगरी हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेण्डा पनि रहेको छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १६ गते मंगलबार एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा असार १५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन योग्य हुनेछन्।











