जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिका अध्यक्ष विक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जरसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरेको हो। गत चैत २८ गते जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीच मर्जर सम्झौता भएको थियो। उक्त सम्झौतालाई लघुवित्त क्षेत्रमा हालसम्मकै ठूलो मर्जर सम्झौताका रूपमा हेरिएको छ।
विशेष साधारणसभाले मर्जरपश्चात् संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहने तथा केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहने प्रस्ताव पनि पारित गरेको छ। युनिक नेपाल र मानुषी लघुवित्तका हालका केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिने निर्णयसमेत गरिएको छ।
मर्जरपछि संस्थाको नेतृत्व हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्तावलाई पनि साधारणसभाले अनुमोदन गरेको छ। साथै, मर्जर प्रक्रियाका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन तथा हालसम्म सम्पन्न सम्पूर्ण कामकारबाहीलाई समेत अनुमोदन गरिएको छ।
साधारणसभाले भविष्यमा आवश्यकताअनुसार अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिसन) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने निर्णय पनि गरेको छ।
हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार रुपैयाँ, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ। मर्जरपछि एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ।
एकीकृत कारोबार सुरु भएपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुने जनाइएको छ। मर्जरपश्चात् संस्थाको शाखा सञ्जाल ६ प्रदेशमा फैलिनेछ भने कुल शाखा संख्या २३३ पुग्नेछ। हाल जीवन विकासले ३१ जिल्लामा, युनिक नेपालले १० जिल्लामा र मानुषी लघुवित्तले १४ जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएका छन्।











