त्रसित बन्दै गयो साताको शेयर बजार, अर्बौं गुम्यो लगानी

काठमाडौँ । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचै कारोबार दिन ओरालो लाग्दै करिब २ प्रतिशतको गिरावटसहित बन्द भएको छ। लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै जाँदा बजारमा खरिद पक्ष कमजोर देखिएको छ भने कारोबार रकमसमेत अघिल्लो साताको तुलनामा घटेको हो ।
गत साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से यस साता ५२.६० अंक अर्थात १.९५ प्रतिशतले घटेर २६४९.५१ विन्दुमा आइपुगेको हो। पाँच कारोबार दिन नै बजार राताम्य रहनुले अल्पकालीन रूपमा बिक्री दबाब हाबी रहेको संकेत गरेको छ।
मुख्य परिसूचकसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। यस अवधिमा सेन्सेटिभ इण्डेक्स ६.३० अंक, फ्लोट इण्डेक्स ३.३५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंकले घटेका छन्।
कारोबार गतिविधिमा पनि केही सुस्तता देखिएको छ। गत साता दैनिक औसत ४ अर्ब ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औसत कारोबार रकम ४ अर्ब २ लाख रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो साताको तुलनामा ०.१८ प्रतिशत कम हो। दैनिक औसत कारोबार रकममा सामान्य गिरावट देखिए पनि दैनिक औसत कारोबार भएको शेयर संख्या १०.९८ प्रतिशतले घटेको छ भने कारोबार संख्या भने ३०.९३ प्रतिशतले बढेको छ। यसले कम परिमाणका धेरै कारोबार भएको अवस्था देखाएको छ।
बजार ओरालो लागेसँगै कुल बजार पूँजीकरणमा पनि उल्लेख्य कमी आएको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ८२ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ३४ अर्ब रुपैयाँमा झरेको छ। करिब २ प्रतिशतको यो गिरावटले लगानीकर्ताको सम्पत्तिमा उल्लेख्य संकुचन आएको देखिन्छ।
क्षेत्रगत रूपमा हेर्दा यस साता कुनै पनि उपसमूह हरियो रहन सकेन। सबै १३ उपसमूहको परिसूचक घटेको छ। सबैभन्दा धेरै दबाब उत्पादन तथा प्रशोधन उपसमूहमा देखिएको छ। यो उपसमूह ३.३१ प्रतिशत अर्थात ३६५.६७ अंकले घट्दै ११ हजार ६३.६२ विन्दुबाट १० हजार ६९७.९५ विन्दुमा झरेको छ। प्रतिशत र अंक दुवै आधारमा यही उपसमूह सबैभन्दा धेरै घटेको हो।
अर्कोतर्फ, म्युचुअल फण्ड उपसमूहमा भने तुलनात्मक रूपमा कम गिरावट देखिएको छ। यो उपसमूह ०.५१ प्रतिशत अर्थात ०.११ अंकले घटेर २१.७८ विन्दुबाट २१.६७ विन्दुमा पुगेको छ। अन्य उपसमूहको तुलनामा यसको गिरावट न्यून रहे पनि समग्र बजारको नकारात्मक प्रवृत्तिबाट यो पनि अछुतो रहन सकेन।
यस साता प्राथमिक बजारतर्फ भने दुई कम्पनीका शेयर नेप्सेमा सूचीकृत भएका छन्। एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर तथा स्नो रिभर्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरी कुल १ करोड १८ लाख ७५ हजार ५७९ दशमलव ६० कित्ता शेयर सूचीकृत भएका हुन्।











