ई–लर्निङ र एआईलाई विद्यालय तहदेखि अनिवार्य गर्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ई–लर्निङ र एआईलाई विद्यालय तहदेखि विश्वविद्यालयसम्म अनिवार्य गर्नुपर्ने बताएका छन्। काठमाडौंस्थित मदन भण्डारी मेमोरियल कलेजको २५औं वार्षिकोत्सव (रजत जयन्ती) समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त विचार व्यक्त गरेका हुन्।
उपराष्ट्रपति यादवले विगत २५ वर्षदेखि कलेजले शिक्षाको ज्योति फैलाउँदै राष्ट्रका लागि सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्न खेलेको भूमिकाको प्रसंशा गरे। वर्तमान युवा पुस्ता प्रगतिशील र आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै उनले भने, ‘आजका युवाहरू केवल जागिरको खोजीमा मात्र सीमित छैनन्, बरु उनीहरू आफ्नो प्रतिभा, नवप्रवर्तन (नवाचार) र उद्यमशीलताको माध्यमबाट नयाँ रोजगारी सिर्जना गर्न सक्षम छन् । नेपालको भविष्य यही युवाशक्तिमा निर्भर छ र उनीहरूको सफलता नै देशको सुनौलो भविष्यको आधारस्तम्भ हो ।’
उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल विकास र विश्वव्यापी प्रतिस्पर्धाको यस युगमा आफ्ना आधारभूत मूल्य–मान्यता र नैतिकतालाई जोगाउँदै विश्वस्तरमा खरो उत्रिनुपर्ने चुनौती रहेको औंल्याए। साथै शिक्षक वर्गलाई राष्ट्र निर्माणका सच्चा अभियन्ताका रूपमा स्मरण गर्दै उनले उच्च सम्मान प्रकट गरे।
शिक्षाको महत्वमाथि प्रकाश पार्दै उपराष्ट्रपति यादवले शैक्षिक प्रमाणपत्र मात्र हासिल गर्नु ठूलो विषय नभएको भन्दै जीवनोपयोगी सीप र संस्कारयुक्त गुणस्तरीय शिक्षामा जोड दिए। ई–लर्निङ र एआई जस्ता डिजिटल प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म अनिवार्य रूपमा विस्तार गर्नुपर्ने बताएका छन्।
उनले शिक्षालयहरूलाई समावेशी सिद्धान्त अपनाउन आग्रह गर्दै ग्रामीण, पिछडिएका, दलित, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिम समुदायका बालबालिकाका लागि शिक्षामा समान अवसर सुनिश्चित हुनुपर्नेमा जोड दिए। कलेज तथा विश्वविद्यालयहरू अब केवल सैद्धान्तिक अध्यापनमा मात्र सीमित नभएर अनुसन्धान र उद्यमशीलताको केन्द्र बन्नुपर्ने उनको भनाइ थियो।
समारोहमा सम्वोधनका क्रममा उपराष्ट्रपति यादवले शिक्षा क्षेत्रका वर्तमान चुनौतीहरूलाई अवसरमा बदल्न गुणस्तरीय, व्यावहारिक र डिजिटल शिक्षाको मार्ग अपनाउनुपर्ने बताए । उक्त अवसरमा उनले कलेजका उत्कृष्ट प्राध्यापक, कर्मचारी तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरे।











