विश्वकप हेर्ने लोभमा साइबर ठगी बढ्यो, निःशुल्क लाइभ स्ट्रिमिङ भन्दै २ करोड २९ लाख चोरी

१४ असार २०८३, आईतवार १६:५८

काठमाडौँ ।  फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै विश्वभर फुटबलको चर्चा चुलिएको छ। अमेरिका, मेक्सिको र क्यानडामा जारी प्रतियोगिता हेर्न नेपालमा पनि दर्शकको उत्साह बढिरहेका बेला साइबर अपराधीहरूले त्यसैको फाइदा उठाउँदै निःशुल्क लाइभ स्ट्रिमिङको प्रलोभनमा पारेर नेपाली प्रयोगकर्तालाई ठगी गर्ने क्रम बढाएको पाइएको छ।

प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जालमा ‘फिफा विश्वकप निःशुल्क लाइभ हेर्नुहोस्’ भन्दै फैलाइएका फर्जी विज्ञापन, फिसिङ लिंक र नक्कली एपमार्फत प्रयोगकर्ताको बैंक खातासम्म पहुँच पुर्‍याएर रकम चोरी गर्ने गिरोह सक्रिय रहेको छ। यस्ता घटनाबारे उजुरी बढ्न थालेपछि ब्यूरोले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

हालै सार्वजनिक भएको एक घटनामा सामाजिक सञ्जालमा देखिएको ‘नेपालको अल इन वान टिभी एप (जिजी टिभी)’ डाउनलोड गरेका एक प्रयोगकर्तालाई बैंकसम्बन्धी विवरण प्रविष्ट गर्न लगाइएको थियो। त्यसलगत्तै उनको खाताबाट करिब २३ हजार रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर भएको खुलेको छ।

साइबर ब्यूरोका अनुसार जेठयता मात्रै यस्ता प्रकृतिका ११५ भन्दा बढी उजुरी दर्ता भएका छन्। हालसम्मको अनुसन्धानबाट करिब २ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको पुष्टि भएको ब्यूरोले जनाएको छ।

अनुसन्धानका क्रममा गिरोहले विशेषगरी फेसबुकलगायत सामाजिक सञ्जालमार्फत विश्वकप निःशुल्क हेर्न सकिने भन्दै फिसिङ लिंक फैलाउने गरेको पाइएको छ। ती लिंकमार्फत प्रयोगकर्तालाई एपिके (.apk) फाइल डाउनलोड गराइ विभिन्न अनुमति दिन लगाइन्छ। त्यसपछि बैंक खातामा पहुँच दिने प्रमाणीकरण कोड वा अन्य संवेदनशील जानकारी प्राप्त गरी खाताबाट रकम चोरी गर्ने गरिएको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोले सर्वसाधारणलाई ‘.exe’, ‘.bat’ वा ‘.apk’ फाइल भएका अपरिचित लिंक तथा एप नखोल्न, अनलाइनमा निःशुल्क भन्दै गरिने अविश्वसनीय प्रस्तावमा विश्वास नगर्न र बैंकको पासवर्ड, ओटीपी तथा प्रमाणीकरण कोड कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*