भन्सार छलीबाट फिक्सडर्माका उत्पादन बजारमा, भन्सार विभागको भुमिकामाथि प्रश्न

काठमाडौं । नेपालका लागि फिक्सडर्मा इन्डिया प्रालिको आधिकारिक विक्रेता कस्मिटेक इन्टरनेशनल प्रालिले भन्सार छली गरी अनधिकृत रूपमा आयात गरिएका फिक्सडर्मा ब्रान्डका उत्पादन खुलेआम बजारमा बिक्री भइरहेको सार्वजनिक गरेपछि भन्सार विभागको निगरानी र नियन्त्रण प्रणालीमाथि प्रश्न उठेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार भारतीय बजारका लागि उत्पादन गरिएका फिक्सडर्माका विभिन्न उत्पादन नेपालभर उच्च एमआरपी अंकित गरेर बिक्री–वितरण भइरहेको पाइएको छ। यदि कम्पनीको दाबी सही हो भने भन्सार छली गरेर आयात गरिएका उत्पादन बजारसम्म कसरी पुगे, सम्बन्धित निकायले त्यसको रोकथाम किन गर्न सकेनन् भन्ने प्रश्न उब्जिएको छ।
सूचनामा बजारमा पाइने केही उत्पादनमा नेपालको आधिकारिक मूल्यभन्दा बढी एमआरपी अंकित गरिएको उल्लेख छ। कम्पनीका अनुसार Shadow SPF 50+ Cream 75 GM को आधिकारिक मूल्य ८८० रुपैयाँ भए पनि अनधिकृत रूपमा ल्याइएका उत्पादनमा १,०४० रुपैयाँ उल्लेख गरिएको छ। Shadow SPF 50+ Gel 75 GM को आधिकारिक मूल्य १ हजार रुपैयाँ रहेकामा १ हजार १६० रुपैयाँ अंकित गरिएको छ।
त्यस्तै Shadow SPF 30+ Cream 75 GM को आधिकारिक मूल्य ७०४ रुपैयाँ भए पनि अनधिकृत उत्पादनमा ७७६ रुपैयाँ, Foot Cream 60 GM को ३९२ रुपैयाँको सट्टा ५२५ रुपैयाँ, Nigrifix Cream 100 GM को १ हजार २४० रुपैयाँको सट्टा १ हजार ३२० रुपैयाँ तथा Strawberry Face Wash 75 GM को ३६० रुपैयाँको सट्टा ४०० रुपैयाँ एमआरपी अंकित गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले उपभोक्तालाई उत्पादन खरिद गर्दा प्याकेटको दाहिनेपट्टि ‘Export For Nepal’ लेखिएको छ कि छैन र पिँधमा आयातकर्ताको विस्तृत विवरण उल्लेख गरिएको छ कि छैन भन्ने सुनिश्चित गर्न आग्रह गरेको छ। यी विवरण भएका उत्पादन मात्रै आधिकारिक रूपमा नेपालका लागि आयात गरिएका हुने कम्पनीको भनाइ छ।
नेपालमा आयात हुने वस्तु भन्सार जाँच र राजस्व प्रक्रियाबाट मात्रै बजारमा पुग्नुपर्ने व्यवस्था रहे पनि कम्पनीले नै भन्सार छली गरी ल्याइएका उत्पादन बजारमा बिक्री भइरहेको सार्वजनिक गरेपछि नियामक निकायको प्रभावकारितामाथि प्रश्न उठेको छ। यस्ता उत्पादन सीमाबाट कसरी भित्रिए, बजारसम्म कसरी पुगे र सम्बन्धित निकायले किन नियन्त्रण गर्न सकेनन् भन्ने विषयमा भन्सार विभाग, राजस्व अनुसन्धान विभाग तथा बजार अनुगमन गर्ने निकायको भूमिका अहिले चासोको विषय बनेको छ।











