आज असार १५ गते, देशभर राष्ट्रिय धान दिवस मनाईदै

काठमाडौं । आज असार १५ गते, देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपाली समाजमा परापूर्वकालदेखि नै असार १५ लाई मुख्य रोपाईंको सुरुआत र ‘दही–चिउरा खाने दिन’ का रूपमा हर्सोल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ।
कृषि प्रधान देश नेपालमा मानो रोपेर मुरी उब्जाउने यो महिनालाई किसानहरूको विशेष र व्यस्त महिनाका रूपमा लिइन्छ। सरकारले वि।सं। २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो। यस वर्ष ‘जलवायु मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र समृद्धि’ भन्ने मूल नाराका साथ सरकारी तथा निजी क्षेत्रबाट विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरिएका छन्।
असार १५ का दिन किसानहरू धानको बीउ उखेल्ने, खेत जोत्ने र रोप्ने काममा व्यस्त हुन्छन्। यस दिन युवायुवती तथा किसानहरू खेतको हिलोमा पसेर ‘छपुछपु हिलोमा धान रोपेर छोडौँला’ जस्ता परम्परागत असारे भाका गाउँदै, लोकदोहोरी खेल्दै र एक–अर्कामाथि हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। यो पर्वमा सहरिया युवावर्ग र नेपाल घुम्न आएका विदेशी पर्यटकहरू समेत निकै उत्साहका साथ धान खेतको हिलोमा रमाउने गर्छन्, जसले गर्दा यस दिन कृषि–पर्यटनको प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्दै आएको छ।











