६ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा, पाँचलाई लाभांश घोषणा गर्न प्रतिबन्ध

१५ असार २०८३, सोमबार १४:०९

काठमाडौं । नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ लघुवित्तलाई कारवाही गरेको छ।

राष्ट्र बैंक कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा शिघ्र सुधारात्मक कारवाहीमा परेका छन् ।

शिघ्र सुधारात्मक कारवाहीमा पर्नेमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त,नेरुडे मिर्मिरे लघुवित्त, र सीवाईसी नेपाल र लघुवित्त रहेका छन् ।यी संस्थाको न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले यी संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा आरम्भ चौतारी लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत, गणपति लघुवित्तको २०८२ असोज मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.०१ प्रतिशत तथा सीवाईसी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.२० प्रतिशत मात्र कायम गरेको छ । उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले यी संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सो विनियमावलीको व्यवस्था बमोजिम अब राष्ट्र बैंकले ति संस्थाका उच्च व्यवस्थापनसँग सुधारका कार्यको लागि छलफल गर्ने छ र छलफलका विषयवस्तुलाई अभिलेखका रुपमा राख्ने छ । साथै राष्ट्र बैंकले यी संस्थासँग पुँजी वृद्धिको योजना माग गर्ने छ।

शिघ्र सुधारात्मक सम्बन्धी कारवाहीमा परेका लघुवित्तले नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न पाउने छैनन् । साथै नयाँ शाखा खोल्न पनि पाउने छैनन् । यी संस्थाका सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी लगायत उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धि गर्न पनि पाउने छैनन्।

धौलागिरी लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, र नेरुडे मिर्मिरे लघुवित्तलाई अर्को कसुरमा पनि कारवाही भएको छ । जस अनुसार राष्ट्र बैंकले धौलागिरी लघुवित्तको संचालक समितिलाई सचेत गराएको छ । धौलागिरी लघुवित्तले संस्थाको कर्मचारी सेवा विनियमावली, २०८० को विनियम ९५ मा सेवामा पुनः कायम गर्न सक्ने सम्बन्धी व्यवस्थाको मर्म विपरित हुनेगरी नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको तथा स्पष्ट आधार र कारण विना निज संस्थामा बहाल नरहेको अवधिको रकम समेत नियम विपरित प्रदान गरेको पाईएको छ । अब उप्रान्त यस्तो कार्य नगर्न नगराउनको लागि उक्त निर्णयमा संलग्न सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको हो।

त्यस्तै सञ्चालक समितिले सवारी साधन खरीद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीमा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेकोले राष्ट्र बैंकले सीवाई नेपाल लघुवित्तका सञ्चालक समितिलाई अब उप्रान्त यस प्रकारको कार्य नगर्न नगराउन सचेत गराएको छ।

नेरुडे मिर्मिरे लघुवित्तले कर्जा नोक्सानी व्यवस्था कायम गरेको रकम रू.८१.५५ करोड फिर्ता गरी आम्दानी जनाउँदा त्यसरी फिर्ता गरेको नोक्सानी व्यवस्था रकमको विवरण कुन कुन ऋणीको हो भन्ने यकिन नगरी आम्दानी लेखाङ्कन गरेको पाइएकोले राष्ट्र बैंकले अब उप्रान्त यस्तो कार्य नदोहोर्याउन संस्थाको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*