सरकारी खाद्य कम्पनीमा खाद्य सुरक्षामाथि खेलवाड, मुसाले खाएको चामल नयाँ बोरामा प्याक गर्दै गर्दा फेला

१५ असार २०८३, सोमबार १४:२५

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा गुणस्तरहीन चामल पुनः प्याक गरेर बिक्री वितरण गर्न लागिएको फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङमा गरेको स्थलगत निरीक्षणका क्रममा कम्पनीको गम्भीर लापरबाही सार्वजनिक भएको हो।

अनुगमनका क्रममा गोदामभित्र मुसाले खाएर डल्ला परेको २५ केजीका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा पुनः प्याकिङ गरिरहेको अवस्थामा टोलीले फेला पारेको थियो। चामलमा साना–साना डल्ला (चिलिसा) परेको र ती डल्लाभित्र जैविक पदार्थ (किरा वा अन्य जीव) समेत भेटिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

टोलीका अनुसार कम्पनीको चामल भण्डारण गोदाम अत्यन्त अस्वस्थकर अवस्थामा सञ्चालन भइरहेको थियो। भण्डारण कक्षको तापक्रम अत्यधिक रहेको, गोदाममा सरसफाइको अभाव देखिएको, मुसा नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको, चामलका बोरामा ब्याच नम्बर र मूल्य उल्लेख नगरी बिक्री वितरण गरिएको तथा पूर्ण लेबल विवरणसमेत नराखिएको पाइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले उक्त कम्पनीविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। अनुगमनपछि उत्पादन मिति २०८१ चैत १५ गते र उपभोग्य अवधि दुई वर्ष उल्लेख गरिएको २५ केजीका ३९ बोरा ‘स्टिम जिरा मसिनो चामल’ अर्को आदेश नभएसम्म बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले चामलको गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन गरी प्रयोगशालामा पठाइसकिएको जानकारी दिइन्। उनका अनुसार प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा थप कानुनी कारबाही अघि बढाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*