पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सुरु

१५ असार २०८३, सोमबार १४:२७

काठमाडौं । पाँच महिनादेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। हालका लागि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको बहिरङ्ग (ओपिडी) सेवा मात्रै सुरु गर्ने निर्णय गरेको हो।

स्वास्थ्य बीमा बोर्डले उपचारबापतको बाँकी रकम भुक्तानी प्रक्रिया अघि बढाएपछि सेवा पुनः सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ। बोर्डबाट करिब ४० करोड रुपैयाँ दाबी भुक्तानी नपाएपछि अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो।

अस्पतालका अनुसार पहिलो चरणमा ओपिडी सेवा मात्रै सञ्चालन हुनेछ। भर्ना, शल्यक्रिया र अन्य बीमा सेवा भने आवश्यक तयारी र समन्वयपछि मात्रै सुरु गरिनेछ। स्वास्थ्य बीमाको ओपिडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म वितरण गरिनेछ।

शिक्षण अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर स्वास्थ्य बिमा बोर्डबाट दाबी रकम भुक्तानीमा ढिलाइ, उपचार शुल्कसम्बन्धी विवाद तथा ठूलो रकम स्वीकृत नहुँदा सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*