जीवन बीमा कम्पनीद्वारा बीमालेख धितोमा साढे ९७ अर्ब कर्जा प्रवाह, कुन कम्पनीबाट कति?

१६ असार २०८३, मंगलवार १३:५९

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितलाई उपलब्ध गराएको बीमालेख कर्जा ९७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ नाघेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो लोन ९५ अर्ब २ करोड ५९ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा बीमालेख कर्जा २.६५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

बीमा पोलिसीमा पर्याप्त सरेन्डर भ्यालु सिर्जना भएपछि बीमितले सोही पोलिसीलाई धितोको रूपमा राखेर कम्पनीबाट लोन लिन सक्ने व्यवस्था हुन्छ। यसले आकस्मिक आर्थिक आवश्यकता पूरा गर्न अन्य चल अचल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिनुपर्ने वा पोलिसी नै रद्द गर्नुपर्ने अवस्था टार्ने भएकाले पछिल्ला वर्षहरूमा यस्तो सुविधाप्रतिको आकर्षण क्रमशः बढ्दै गएको देखिन्छ।

चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेपाल लाइफ बीमालेख कर्जा (पोलिसीहोल्डर लोन) को हिसाबले सबैभन्दा अगाडि रहेको छ। कम्पनीले आफ्ना बीमितलाई ३६ अर्ब ८० करोड ८६ लाख रुपैयाँ बराबरको कर्जा उपलब्ध गराएको छ। यद्यपि यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.५९ प्रतिशतले घटेको देखिन्छ।

बीमालेख कर्जाको आकारका आधारमा एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ। कम्पनीको बीमालेख कर्जा २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ पुगेको छ। यद्यपि कम्पनीको लोन पोर्टफोलियो एक वर्षको अवधिमा ६.३९ प्रतिशतले घटेको छ। त्यसैगरी नेशनल लाइफले १३ अर्ब २५ करोड ७७ लाख रुपैयाँ बराबरको बीमालेख कर्जा प्रवाह गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ। हिमालयन लाइफको बीमालेख कर्जा ८ अर्ब ५४ करोड २६ लाख रुपैयाँ पुगेको छ भने एशियन लाइफले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ बराबरको लोन उपलब्ध गराएको छ।

त्यसपछि सूर्यज्योति लाइफको बीमालेख कर्जा ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ रहेको छ। सानिमा रिलायन्स लाइफले १ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको बीमालेख कर्जा प्रवाह गरेका छन्। त्यस्तै आईएमई लाइफको बीमालेख कर्जा १ अर्ब २३ करोड ७ लाख रुपैयाँ पुगेको छ भने सिटिजन लाइफको १ अर्ब १७ करोड ७० लाख रुपैयाँ रहेको छ। सन नेपाल लाइफले ७९ करोड १५ लाख रुपैयाँ तथा रिलायबल नेपाल लाइफले ६३ करोड ४१ लाख रुपैयाँ बराबरको बीमालेख कर्जा उपलब्ध गराएका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीले भने यस्तो विवरण सार्वजनिक गरेको छैन।

वृद्धिदरका आधारमा हेर्दा आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको बीमालेख कर्जा एक वर्षमा ३५.५१ प्रतिशतले बढेको छ। त्यसपछि रिलायबल नेपालको २६.५३ प्रतिशत, सानिमा रिलायन्सको २६.४१ प्रतिशत, सिटिजनको २२.८३ प्रतिशत, प्रभु महालक्ष्मीको १८.४० प्रतिशत र सूर्यज्योतिको १६.८३ प्रतिशत वृद्धि भएको छ। सन नेपालको १२.३८ प्रतिशत, हिमालयनको १०.३२ प्रतिशत, नेशनलको ८.९० प्रतिशत र एशियनको ३.८७ प्रतिशतले बढेको छ।

यता केही ठूला कम्पनीहरूको बीमालेख कर्जा भने घटेको देखिएको छ। एलआईसी नेपालको लोन ६.३९ प्रतिशत, मेट लाइफको ३.२० प्रतिशत तथा नेपाल लाइफको ०.५९ प्रतिशतले घटेको वित्तीय विवरणले देखाएको छ। तेस्रो त्रैमाससम्मको तथ्यांकले समग्र जीवन बीमा उद्योगमा बीमालेख कर्जा विस्तारको गति सकारात्मक रहेको संकेत गरेको छ। विशेषगरी १० कम्पनीमा लोन पोर्टफोलियो वृद्धि हुनुका साथै ८ कम्पनीले दुई अंकको वृद्धिदर हासिल गरेका छन्। यद्यपि बजारका दुई ठूला कम्पनी नेपाल लाइफ र एलआईसी नेपालको बीमालेख कर्जा भने अघिल्लो वर्षको तुलनामा केही खुम्चिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*