पेट्रोलमा २० रुपैयाँ घटेपछि बजारमा कृत्रिम अभाव, निजी पम्पले बन्द गरे बिक्री

१७ असार २०८३, बुधबार १३:३८

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती भएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले पेट्रोल बिक्री बन्द गरेपछि उपभोक्ताले सास्ती खेप्नुपरेको छ। अधिकांश निजी पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री वितरण रोकेका छन् भने सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ।

काठमाडौं उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा बिहानैदेखि इन्धन भर्न आउने सवारीसाधनको भीड लागेको छ। यता बानेश्वर आसपासका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा चालकहरू वैकल्पिक पम्प खोज्दै भौतारिन बाध्य भएका छन्। उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट पनि निजी पेट्रोल पम्पले बिक्री वितरण रोकेको सूचना प्राप्त भएको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको घोषणा गरेको थियो। मूल्य घटेको केही घण्टामै बजारमा पेट्रोल बिक्री प्रभावित भएपछि उपभोक्तामा इन्धन अभाव भएको आशंका फैलिएको हो।

यद्यपि, नेपाल आयल निगमले भने बजारमा पेट्रोलियम पदार्थको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार देशभर पर्याप्त इन्धन मौज्दात रहेको र आपूर्ति प्रणाली नियमित रूपमा सञ्चालन भइरहेको छ।

निगमले केही व्यवसायीले मूल्य घट्ने जानकारी पाएपछि पुरानो मूल्यमा इन्धन खरिद नगरी लोड नउठाएको तथा बढी नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। यसै कारण केही निजी पम्पमा बिक्री प्रभावित भए पनि समग्र रूपमा इन्धन आपूर्तिमा कुनै समस्या नरहेको निगमको दाबी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*