जीवन बीमा कम्पनीको दीर्घकालीन लगानी साढे ६ खर्ब नजिक, कुन कम्पनीको कति?

१७ असार २०८३, बुधबार १३:५१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका जीवन बीमा कम्पनीहरूको दीर्घकालीन लगानी (लङ टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा विस्तार भएको छ। कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो लगानी उल्लेख्य वृद्धि भएको देखाएको हो।

जीवन बीमा कम्पनीहरूले संकलन गरेको बीमाशुल्कलाई सुरक्षित र प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्ने भएकाले दीर्घकालीन लगानीलाई वित्तीय अवस्था मापन गर्ने प्रमुख सूचकका रूपमा हेरिन्छ। सरकारी ऋणपत्र, बैंक तथा वित्तीय संस्थाका मुद्दती निक्षेप, सूचीकृत कम्पनीका शेयर, डिबेञ्चरमा गरिने यस्ता लगानीबाट प्राप्त प्रतिफलले भविष्यमा बीमा दाबी भुक्तानी लगायतमा प्रयोग हुन्छ।

वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल दीर्घकालीन लगानी ६ खर्ब ४३ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी ५ खर्ब ६१ अर्ब ९४ करोड ७ लाख रुपैयाँ रहेको थियो। यसबीच समग्र दीर्घकालीन लगानी १४.५० प्रतिशतले वृद्धि भएको देखिएको छ।

दीर्घकालीन लगानीको आकारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीको यस्तो लगानी २ खर्ब १० अर्ब ३० करोड ३४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३२.०३ प्रतिशतले वृद्धि भएको हो। बीमा क्षेत्रकै सबैभन्दा ठूलो लगानी पोर्टफोलियो कायम राख्दै कम्पनीले आफ्नो अग्रता थप बलियो बनाएको छ। दोस्रो स्थानमा रहेको एलआईसी नेपालको दीर्घकालीन लगानी ८९ अर्ब ४० करोड १२ लाख रुपैयाँ रहेको छ। यद्यपि कम्पनीको लगानी अघिल्लो वर्षको तुलनामा ७.४९ प्रतिशतले घटेको छ। त्यसपछि नेशनल लाइफले ७२ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको दीर्घकालीन लगानी गर्दै तेस्रो स्थान कायम राखेको छ। कम्पनीको लगानी एक वर्षमा १७.८८ प्रतिशतले वृद्धि भएको छ।

चौथो स्थानमा रहेको हिमालयन लाइफको दीर्घकालीन लगानी ४९ अर्ब १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको लगानी भने ४.९७ प्रतिशतले घटेको देखिन्छ। त्यसपछि सूर्यज्योति लाइफले ४१ अर्ब १८ करोड ५८ लाख रुपैयाँ तथा एशियन लाइफले ४० अर्ब १ करोड ८१ लाख रुपैयाँ बराबरको दीर्घकालीन लगानी गरेका छन्। यी दुवै कम्पनीको लगानी क्रमशः २८.७६ प्रतिशत र १६.०४ प्रतिशतले बढेको छ।

त्यस्तै सिटिजन लाइफको दीर्घकालीन लगानी २२ अर्ब ५५ करोड १ लाख रुपैयाँ पुगेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको २१ अर्ब १६ करोड ४ लाख रुपैयाँ रहेको छ। मेट लाइफले २० अर्ब ९४ करोड ७३ लाख रुपैयाँ तथा रिलायबल नेपाल लाइफले २० अर्ब ३१ करोड ९७ लाख रुपैयाँ बराबरको दीर्घकालीन लगानी गरेका छन्। यसैगरी सन नेपाल लाइफको दीर्घकालीन लगानी १५ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ। आईएमई लाइफको १५ अर्ब १७ करोड २७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १३ अर्ब ४० करोड १६ लाख रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफको ११ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ दीर्घकालीन लगानी रहेको वित्तीय विवरणमा उल्लेख छ।

वृद्धिदरका आधारमा हेर्दा नेपाल लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको दीर्घकालीन लगानी ३२.०३ प्रतिशतले बढेको छ। त्यसपछि सिटिजनको २९.४२ प्रतिशत, सूर्यज्योतिको २८.७६ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २३.३० प्रतिशत, रिलायबलको १७.९३ प्रतिशत, नेशनलको १७.८८ प्रतिशत, एशियनको १६.०४ प्रतिशत, सन नेपालको १४.९६ प्रतिशत, आइएमईको १४.३६ प्रतिशत, सानिमाको ७.५८ प्रतिशत तथा प्रभु महालक्ष्मीको २.८४ प्रतिशत वृद्धि भएको छ। यता केही कम्पनीहरूको दीर्घकालीन लगानी भने घटेको देखिएको छ। मेट लाइफको लगानी १२.१४ प्रतिशत, एलआईसी नेपालको ७.४९ प्रतिशत तथा हिमालयन लाइफको ४.९७ प्रतिशतले घटेको वित्तीय विवरणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*