भारतीय हेलिकप्टर मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको स्पष्ट पारेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा प्रवेश गरेको भारतीय हेलिकप्टर नियोजित वा गलत मनसायका साथ नेपाली भूभागमा नआएको बताएका हुन्।
उनले दार्चुला क्षेत्रको भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण हेलिकप्टर नेपाली आकाशमा प्रवेश गरेको जानकारी दिँदै यस विषयमा नेपाली सम्बन्धित निकाय र भारतीय पक्षबीच आवश्यक सम्पर्क तथा समन्वय भइरहेको बताए।
मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको पनि जानकारी दिए। साथै नेपाली चियाको भारत निर्यातमा देखिएका अवरोध हटाउन सरकारले निरन्तर कूटनीतिक पहल गर्दै आएको उल्लेख गरे।
उनले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा उच्चस्तरीय तहमा यस विषयमा छलफल भएको र त्यसको सकारात्मक परिणामस्वरूप नेपाली चियाको भारत निर्यात सहज बनेको दाबी गरे।
“केही दिनअघि भारतले आफ्नो नीतिमा केही परिमार्जन गरेपछि नेपाली चियाको निर्यातमा सहजीकरण भएको छ,” मन्त्री खनालले भने।











