७ दिनको राताम्यमा ब्रेकः १३ वटै उपसूचकमा हरियाली, अझै यी कुरामा छ खतरा!

काठमाडौँ । सात कारोबार दिनसम्म निरन्तर ओरालो लागेको नेपाली शेयर बजारले बुधबार भने केही राहतको सास फेर्यो । लगातारको गिरावटपछि नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्दा लगानीकर्तामा केही आशा जागेको देखिएको छ । पछिल्ला दिनमा बजारमा देखिएको अत्यधिक निराशाबीच आएको यो सुधारलाई धेरैले सकारात्मक संकेतका रूपमा हेरे पनि विश्लेषकहरू भने यसलाई स्थायी सुधारका रूपमा लिन अझै हतार हुने बताउँछन् ।
सरकारबाट पूँजी बजारलाई सकारात्मक सन्देश दिने प्रयास, केही नीतिगत संकेत तथा बजार अत्यधिक घटेपछि भएको प्राविधिक सुधारले सूचक बढे पनि लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन सकेको छैन । सुधारको अवसरमा धेरै लगानीकर्ता बिक्रीतर्फ आकर्षित भइरहेकाले बजारको आगामी दिशा अझै अनिश्चित रहेको उनीहरूको भनाइ छ । पछिल्ला केही सातादेखि नेपाली पूँजी बजार मनोवैज्ञानिक दबाब, नीतिगत अन्योल र नियामकीय गतिविधिको त्रिपक्षीय प्रभावमा परेको देखिन्छ । नेप्से निरन्तर घट्दा लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको सम्पत्ति कागजी रूपमा घटेको छ भने दैनिक कारोबार रकम पनि क्रमशः संकुचित हुँदै गएको छ। यहीबीच शेयर कारोबारमा १ प्रतिशत नयाँ कर लगाइने भन्ने हल्लाले बजारमा थप त्रास सिर्जना ग¥यो। सरकारले संसदमार्फत त्यस्तो कुनै व्यवस्था नगरिएको स्पष्ट पारिसकेको र सम्बन्धित निकायले भ्रममा नपर्न आग्रह गरे पनि त्यसले बजारको मनोविज्ञान बदल्न सकेन। बरु धेरै लगानीकर्ता नयाँ लगानीबाट पछि हटे भने केहीले जोखिम कम गर्न आफ्ना शेयर बिक्री गर्न थाले। विगतमा सरकार परिवर्तन, अर्थमन्त्री नियुक्ति वा आर्थिक सुधारसम्बन्धी घोषणाले बजारमा उत्साह ल्याउने गरे पनि यसपटक विश्वासको संकटका कारण सकारात्मक समाचारसमेत प्रभावहीन बनेको देखिएको छ।
बजारमा देखिएको अर्को महत्वपूर्ण दबाब नियामकीय अनुसन्धानसँग जोडिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारमाथिको निगरानी तीव्र बनाएपछि ठूला लगानीकर्ता र सक्रिय कारोबारी समूह सतर्क बनेका छन्। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार दैनिक ३० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ब्रोकर कम्पनी तथा तिनमार्फत कारोबार गर्ने ठूला लगानीकर्ताको विवरण संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ। समूहगत कारोबार, कृत्रिम रूपमा मूल्य बढाउने गतिविधि, भित्री सूचनाको दुरुपयोग तथा अस्वाभाविक कारोबारको आशंकामा अनुसन्धान तीव्र बनेपछि बजारमा आक्रामक रूपमा कारोबार गर्ने प्रवृत्ति कमजोर भएको विश्लेषण गरिएको छ। नियामकको निगरानी आवश्यक भए पनि त्यसको प्रभावले अल्पकालमा बजारमा कारोबार गर्ने मनोबल घटाएको बजार वृत्तको बुझाइ छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पूँजी बजारलाई सकारात्मक सन्देश दिने प्रयास गरेको भए पनि त्यसअनुसारका कानुनी र नीतिगत सुधारले गति लिन नसक्दा लगानीकर्ताको अन्योल हट्न सकेको छैन। निजी क्षेत्रको मनोबल बढाउने, पूँजी बजारलाई थप व्यवस्थित बनाउने तथा लगानी विस्तारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता सार्वजनिक भए पनि कार्यान्वयनमा अपेक्षित प्रगति हुन सकेको छैन। विभिन्न सरकारी निकायबाट फरक–फरक धारणा सार्वजनिक हुनु, नियामक निकायबाट स्पष्ट मार्गदर्शन नआउनु तथा बजारसँग सम्बन्धित निर्णयमा ढिलाइ भइरहनुले लगानीकर्ताको विश्वास थप कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ। नीतिगत स्थिरता र पूर्वानुमानयोग्य वातावरणको अभावले बजारमा दीर्घकालीन लगानी गर्ने वातावरण अझै बन्न नसकेको उनीहरूको निष्कर्ष छ।
असार मसान्त नजिकिएसँगै वित्तीय प्रणालीमा देखिएको मौसमी दबाबले पनि बजारलाई थप प्रभावित गरेको छ। बैंक तथा वित्तीय संस्थासँगको कर्जा समायोजन, मार्जिन कर्जा व्यवस्थापन, हिसाब मिलान तथा अन्य वित्तीय दायित्व पूरा गर्नुपर्ने बाध्यताका कारण धेरै लगानीकर्ताले शेयर बिक्री बढाएका छन्। हरेक वर्ष असार मसान्तमा यस्तो प्रवृत्ति देखिने भए पनि यसपटक बजारलाई माथि तान्ने कुनै बलियो सकारात्मक उत्प्रेरक नदेखिएकाले बिक्री चाप अझ तीव्र बनेको छ। खरिदकर्ता सीमित हुँदा अधिकांश कम्पनीको शेयर मूल्य निरन्तर दबाबमा परेको छ भने कारोबार रकमसमेत उल्लेखनीय रूपमा खुम्चिएको अवस्था छ। यही कारण बजारमा देखिएको बुधबारको सुधारलाई धेरैले ‘राहतको श्वास’ मात्र मानेका छन् ।
अब भने सम्पूर्ण बजारको ध्यान नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आगामी मौद्रिक नीतिमा केन्द्रित भएको । विशेषगरी शेयर धितो कर्जाको सीमा, तरलता व्यवस्थापन, ब्याजदरको दिशा, पूँजी बजारसँग सम्बन्धित कर्जा नीति तथा लगानीमैत्री व्यवस्थाबारे राष्ट्र बैंकले लिने निर्णयलाई लगानीकर्ताले चासोपूर्वक हेरिरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.५९ अकंले घटेर २६५२.९३ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ९५ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.१४ प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बुधबार २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













