बैंकिङ सेवाप्रति ग्राहक कत्तिको खुसी ? राष्ट्र बैंकले सुरु गर्दै देशव्यापी सर्वेक्षण

१७ असार २०८३, बुधबार १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्दै सेवा प्रवाह र नियामकीय व्यवस्थामा सुधार गर्ने उद्देश्यका साथ ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सर्वेक्षण देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर सञ्चालन गरिनेछ। ‘र्यान्डम साम्पलिङ’ विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ वटा नमुना संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवाको गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा, अनुभव र सन्तुष्टिको अवस्था अध्ययन गरिनेछ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षणलाई थप प्रभावकारी बनाउन, वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा सम्बन्धित नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा आवश्यक सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र यथार्थपरक बनाउन सम्बन्धित सबै पक्षलाई निष्पक्ष रूपमा आवश्यक जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलनमा सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुने जनाएको छ। सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ भने सर्वेक्षणका क्रममा संकलित सबै विवरण तथा जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पारिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*