तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा एक करोड रुपैयाँ लगानी गर्ने

१७ असार २०८३, बुधबार १६:५९

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रो लिमिटेडमा एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको असार १७ गते बुधबार अपराह्न ३ बजे बसेको ६७औं सञ्चालक समिति बैठकले कम्पनीको लगानीयोग्य मौज्दात रकमबाट नर्थ समिट हाइड्रोमा लगानी गर्ने निर्णय गरेको हो।

उक्त निर्णय कम्पनीको प्रबन्धपत्रको व्यवस्था तथा आठौं वार्षिक साधारणसभाबाट प्राप्त स्वीकृतिअनुसार गरिएको कम्पनीले जनाएको छ। निर्णयअनुसार तेह्रथुम पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख कित्ता शेयर खरिद गर्नेछ। यसबाट कम्पनीले नर्थ समिट हाइड्रोमा कुल १ करोड रुपैयाँ लगानी गर्ने भएको हो।

नर्थ समिट हाइड्रो लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८० असार २९ गते दर्ता भएको कम्पनी हो। कम्पनीले विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति तथा उत्पादन अनुमति प्राप्त गरिसकेको छ। कम्पनीले निर्माण गरिरहेको २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत साविकको बाहुनडाँडा र भुलभुले क्षेत्रमा अवस्थित छ।

तेह्रथुम पावरले आयोजनाको निर्माण प्रगति सन्तोषजनक रहेको, लागत व्यवस्थापन तुलनात्मक रूपमा राम्रो देखिएको तथा सन् २०२७ नोभेम्बरसम्म व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्यका आधारमा लगानी गर्ने निर्णय गरिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*