३० दिनभित्र दर्ता गर्न राइड सेयरिङ सेवा प्रदायकलाई निर्देशन

काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता इजाजतपत्र लिन निर्देशन दिएको छ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सूचना जारी गर्दै गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) (दोस्रो संशोधन) नियमावली, २०८२ अनुसार प्रदेशभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्न इच्छुक सबै सेवा प्रदायकले दर्ता इजाजतपत्र प्राप्त गर्नुपर्ने जनाएको हो।
मन्त्रालयका अनुसार हालसम्म दर्ता इजाजतपत्र नलिई राइड सेयरिङ सेवा सञ्चालन गरिरहेका कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
तोकिएको समयसीमाभित्र दर्ता नगरी सेवा सञ्चालन गरेको पाइएमा नियमावलीको नियम (३) तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही र जरिवाना गरिने मन्त्रालयले चेतावनी दिएको छ।











