४५ करोडको व्यापार गरे पनि चन्द्रागिरि हिल्सको नाफा ऋणात्मक, हकप्रदमार्फत ऋण तिर्ने योजना

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले ९ महिनामा नै साढे ४५ करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण कम्पनीका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भए पनि उक्त अवधिमा कम्पनीको व्यापार सन्तोषजनक देखिएको छ ।
यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ९० लाख रुपैयाँ रहेकोमा २०७९/८० मा बढेर ९१ करोड ३० लाख रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन आम्दानी एक अर्ब रुपैयाँ पुगे पनि आर्थिक वर्ष २०८१/८२ मा घटेर ९० करोड २० लाख रुपैयाँमा सीमित भएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा भने ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ । आन्दोलनका बेला क्षति भएका संरचना बनाउन लामो समयलागेसँगै कम्पनीको नाफा प्रभावित बन्न पुगेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, अहिले ९ महिनासम्म आइपुग्दा कम्पनीको नाफा ऋणात्मक नै देखिएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले एक करोड ७० लाख, २०७९/८० मा बढेर ११ करोड २० लाख रुपैयाँ र २०८०/८१ मा २० करोड रुपैयाँ रुपैयाँ नाफा कमाएको थियो ।
केबलकार करिब ३ महिना अवरुद्ध भएपछि यसको प्रत्यक्ष असर कम्पनीको रिसोर्ट व्यवसायमा पनि परेको थियो । पर्यटक तथा सेवाग्राहीको आगमन उल्लेखनीय रूपमा घट्दा रिसोर्टको कोठा उपयोग दर पनि प्रभावित भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा रिसोर्टको औसत कोठा उपयोग दर करिब २२ प्रतिशत मात्र रहेको छ, जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो करिब ३६ प्रतिशत थियो ।
सञ्चालन नाफा तथा मूल्यह्रासअघिको आम्दानीको अनुपात आर्थिक वर्ष २०७८/७९ मा ५५ प्रतिशत, २०७९/८० मा ६१.५ प्रतिशत, २०८०/८१ मा ५९.५ प्रतिशत तथा २०८१/८२ मा ५५.२ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको नौ महिनामा भने यो अनुपात ३९.४ प्रतिशतमा झरेको छ ।
लगानी गरिएको पुँजीमा प्रतिफल आर्थिक वर्ष २०७८/७९ मा ८ प्रतिशत रहेकोमा २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा यो १२ प्रतिशतमा झरेको छ भने चालु आर्थिक वर्षको नौ महिनामा ४ प्रतिशतमा सीमित भएको छ ।
कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०७८/७९ मा २.१ गुणा रहेकोमा २०७९/८० मा १.८ गुणा, २०८०/८१ मा १.३ गुणा तथा २०८१/८२ मा १.१ गुणामा झरेको थियो । चालु आर्थिक वर्षको नौ महिनामा भने यो अनुपात १.२ गुणा पुगेको छ । कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०७८/७९ मा २.२ गुणा, २०७९/८० मा २.१ गुणा, २०८०/८१ मा १.६ गुणा तथा २०८१/८२ मा १.३ गुणा रहेको थियो। चालु आर्थिक वर्षको नौ महिनामा भने यो १.५ गुणा पुगेको छ ।
कुल ऋण र सञ्चालन नाफा तथा मूल्यह्रासअघिको आम्दानीको अनुपात आर्थिक वर्ष २०७८/७९ मा ६.४ गुणा रहेकोमा २०७९/८० मा ४.१ गुणा र २०८०/८१ मा ३.३ गुणामा झरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो ३.५ गुणा पुगेको छ भने चालु आर्थिक वर्षको नौ महिनामा बढेर ८.२ गुणा पुगेको छ ।

ब्याज तिर्न सक्ने क्षमता आर्थिक वर्ष २०७८/७९ मा १.६ गुणा रहेकोमा २०७९/८० मा २ गुणा, २०८०/८१ मा २.५ गुणा तथा २०८१/८२ मा ३ गुणा पुगेको थियो। चालु आर्थिक वर्षको नौ महिनामा भने यो घटेर १.८ गुणामा सीमित भएको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त शेयर बिक्रीबाट प्राप्त रकम मुख्य रूपमा ऋण घटाउन प्रयोग गर्ने योजना रहेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेड स्थापना सन् २००९ मा भएको हो । कम्पनीले १०० कोठाको आकर्षक सानो स्तरको रिसोर्ट सञ्चालन गर्नुका साथै केबलकार सेवा र सोही परिसरमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गर्दै आएको छ ।
कम्पनीका मुख्य प्रवद्र्धकहरू आईएमई समूहसँग आबद्ध व्यक्तिहरू हुन् । २०२५ जुलाई १५ सम्मको विवरणअनुसार कम्पनीका सबैभन्दा ठूला सेयरधनी हेमराज ढकाल रहेका छन्, जसको स्वामित्व करिब १९.२ प्रतिशत रहेको छ । त्यसपछि उत्तमकुमार नेपाल करिब १२.८ प्रतिशत सेयर स्वामित्वसहित दोस्रो ठूलो सेयरधनी रहेका छन् । कम्पनीका अन्य प्रमुख सेयरधनीहरूमा चन्द्रप्रसाद ढकाल, अम्बिका प्रसाद पौडेल, कल्याण गुरुङ, भाटभटेनी सुपरमार्केट तथा कुमार केशर बिष्ट लगायत रहेका छन् । हेमराज ढकाल कम्पनीका अध्यक्ष हुन् ।
कम्पनीको रेटिङ यथावत् कायम गरिएको छ भने कम्पनीलाई यसअघि राखिएको ‘नकारात्मक प्रभावसहित निगरानी’ सूचीबाट पनि हटाइएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङ आईसीआरएएनपी–आईआर बीबी प्लस स्तरमा पुनः पुष्टि गरेको छ । साथै, कम्पनीलाई यसअघि राखिएको ‘नकारात्मक प्रभावसहित निगरानी’ अवस्थाबाट हटाइएको जनाएको छ । रेटिङ विवरणअनुसार कम्पनीको दीर्घकालीन ऋण सीमा अघिल्लो मूल्याङ्कनमा २ अर्ब १३ करोड ९० लाख रुपैयाँ रहेकोमा हाल २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कायम गरिएको छ ।











