बीमा अभिकर्ताद्धारा राष्ट्र बैंकका गभर्नरलाई बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव

काठमाडौं । बीमा अभिकर्ताका प्रतिनिधिहरुद्धारा राष्ट्र बैंकका गभर्नरलाई बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव दिएका छन् ।
बीमा प्राधिकरणका एक उच्च पदाधिकारीले एक कार्यक्रममा बैंकास्योरेन्सको प्रस्ताव अघि बढाउन नियामकीय प्रावधानमा समस्या नरहेको अभिव्यक्ति आएसँगै प्राधिकरणमा नै पुगेर अभिकर्ताका प्रतिनिधिहरुले यस बिषयमा ध्यानाकर्षण समेत गराएका थिए । चरम विकृतिपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत बन्द गरिएको बैकास्योरेन्स पुनः सञ्चालन गनुपर्ने प्राधिकरणको अभिव्यक्तिमा अभिकर्ताहरुले आपत्ति समेत जनाएका छन् ।
तर प्राधिकरणले यस अघि पनि अभिकर्ताको हित विपरितको काम गर्दै आईरहेको हुँदा अभिकर्ताका प्रतिनिधिहरु राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटेर नै बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव दिएका छन् ।
यसअघि बैंकास्योरेन्स सुचारु हुँदा नै भएका बेथितीहरुको बारेमा बीमा अभिकर्ताकाहरुले गभर्नर पौडेललाई सपष्ट पारेका थिए । बीमा पोलिसी सरेण्डरको रिकभर आजसम्म नभएको र त्यसले सम्रग बीमा क्षेत्र र अभिकर्ताको रोजी रोटीमा पार्ने असरको बिषयमा अवगत गराएका थिए ।
भेटघाटका क्रममा गभर्नर पौडेलले बीमा क्षेत्रमा प्रत्यक्ष प्रभाव हुने काम राष्ट्र बैकबाट नहुने आश्वासन अभिकर्ताहरुलाई दिएका थिए ।
बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने बीमा जीवन बीमक संघले बताउँदै आएको थियो । बैंकमार्फत व्यवसाय गर्न सके जीवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुने उनीहरुको विश्वास छ । यद्यपि बैंकास्योरेन्सको विकृतिका कैयौं मुद्दाहरु अझै बीमा प्राधिकरणमा बाँकी नै छ ।
बीमा अभिकर्ताको रोजीरोटी खोसिने अवस्था सिर्जना भएसँगै कम्पनी र प्राधिकरणसँग लामो आन्दोलन र छलफल पछि रोकिएको बैंकास्योरेन्स पुन संचालनमा ल्याउन प्रयास भइरहेको हुँदा यतिबेला अभिकर्ताहरु सजग भएका छन् ।
बैकास्योरेन्सका नाममा बैंकहरुले अप्रत्यक्ष रुपमा बीमा एजेण्टको रुपमा काम गर्दै आएको भन्दै बीमा अभिकर्ताहरु रुष्ट भएको कारण बन्द गराएको थियो । यो बिषय पुनः सुचारु गर्ने बिषयले बीमा अभिकर्ताहरु झस्किएका छन् । यसअघि नेपाल जीवन बीमक संघले औपचारिक रुपमा निर्णय गरेरै बैंकास्योरेन्स खोल्नुपर्ने माग राष्ट्र बैंक समक्ष गरेको थियो ।
बीमा अभिकर्ताहरूले आफूहरूको रोजगारी गुम्ने गरेर कुनै किसिमका योजना नल्याउन पनि चेतावनी दिएका छन् । आफूहरूले जनतालाई बीमा के हो ? भनेर बुझाएर ठिक्क पारेको व्यवसाय बैंकले खोस्दा सैह्य नहुने अभिकर्ताहरूको भनाई छ ।











