सरकारको निर्णय अनुसार हिमालयन रिबाट पुलको काम खोसेर नेपाल रिलाई, साउन १ गतेदेखि कार्यान्वयन

काठमाडौं । सरकारी कम्पनी संरक्षण निति लागू गर्न हिमालयन रिबाट काम खोसेर नेपाल रिलाई दिइएको छ। नेपाल सरकारको निर्णयलाई नेपाल बीमा प्राधिकरणले लागू गर्ने भएको छ । वैदेशिक रोजगारको पुलको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल रि लाई दिने तयारी प्राधिकरणले गरेको छ ।
प्राधिकरणले आज बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै कोष व्यवस्थापनको जिम्मा नेपाल पुनर्बीमा कम्पनीलाई दिईने जनाएको छ। साउन १ गतेदेखि लागु हुने गरि पुलको व्यवस्थापनको जिम्मा नेपाललाई दिएको हो ।
हाल हिमालयन रिइन्स्योरेन्स कम्पनीले गर्दै आएको काम खोसेर सरकारले सरकारी रि लाई संरक्षण गर्न बजेटमार्फत यो व्यवस्था ल्याएको थियो । जसलाई प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको हो ।
आर्थिक बर्ष २०८१ फागुन महिनादेखि हिमालयन रिले उक्त पुलको व्यवस्थापन गर्दै आएको थियो । चार वर्षका लागि भनेर हिमालयनले व्यवस्थापनको जिम्मा पाएको थियो ।
२०८१ फागुन अघिसम्म उक्त पुलको सञ्चालन तथा व्यवस्थापन दुई पुनर्बीमकले संयुक्त रुपमा गर्ने गरि प्राधिकरणले निर्देशिका जारी गरेको थियो । २०८१ फागुन ४ गते उक्त निर्देशिका संशोधन गरेर ४÷४ वर्षका लागि पालै पालो गर्ने व्यवस्था गरिएको हो । सोही अनुसार सुरुको ४ वर्ष हिमालयनले र अर्काे ४ वर्ष नेपालले गर्ने सम्झौता भयो । सोही अनुसार विगत १६ महिनादेखि हिमालयनले व्यवस्थापन गर्दै आएको थियो ।
वैदेशिक रोजगार बीमामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै प्राधिकरणले पुल प्रणाली लागु गरेको हो । बीमा कम्पनीहरूले क्यास ब्याक दिएर बीमा गराउन थालेपछि बजार अस्वस्थ बन्न पुगेको थियो । त्यसलाई व्यवस्थापन गर्न र अवस्था प्रतिस्पर्धा हटाउन भन्दै प्राधिकरणले पुल प्रणाली लागु गरेको हो ।











