जी मोटर्सबाट बाहिरियो स्काईवेल, अब एलआरआर मोटर्सको जिम्मामा

२५ असार २०८३, बिहीबार १७:११

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता स्काईवेलले नेपालमा आफ्नो आधिकारिक बिक्री साझेदार परिवर्तन गरेको छ। कम्पनीले अबदेखि एलआरआर मोटर्समार्फत आफ्ना सवारीसाधनको बिक्री, वितरण तथा ग्राहक सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।

यसअघि स्काईवेल ब्रान्डको आधिकारिक प्रतिनिधित्व जी मोटर्सले गर्दै आएको थियो। तर उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले पुरानो सम्झौता नवीकरण नगरी एलआरआर मोटर्सलाई नेपालको नयाँ आधिकारिक वितरकका रूपमा जिम्मेवारी दिएको स्रोतले जनाएको छ।

जानकारीअनुसार बजार विस्तार अपेक्षाअनुसार हुन नसकेको, साथै बिक्रीपछिको सेवा प्रभावकारी बनाउन नसकेको मूल्यांकनपछि उत्पादक कम्पनीले नेपालका लागि आफ्नो व्यावसायिक रणनीति परिवर्तन गरेको हो। त्यसकै परिणामस्वरूप नयाँ वितरक नियुक्त गरिएको बताइएको छ।

यो परिवर्तनसँगै स्काईवेल ब्रान्डको बजार प्रवर्द्धन, बिक्री सञ्जाल विस्तार तथा ग्राहक सेवाको सम्पूर्ण जिम्मेवारी अब एलआरआर मोटर्सले सम्हाल्नेछ। कम्पनीका प्रबन्ध निर्देशक जीवनजंग शाहीको नेतृत्वमा स्काईवेलको व्यवसाय अघि बढ्नेछ। यसअघि उक्त जिम्मेवारी जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालको नेतृत्वमा रहेको थियो।

हाल स्काईवेलले नेपाली बजारमा बीई११ र ईटी५ मोडल उपलब्ध गराइरहेको छ। बीई११ दुई संस्करणमा तथा ईटी५ एक संस्करणमा बिक्री भइरहेका कारण कम्पनीका दुई मोडल तीन भेरियन्टमा ग्राहकले खरिद गर्न सक्ने अवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*