ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, समस्या समाधानमा सरकार प्रतिबद्ध : वालेन्द्र शाह

२६ असार २०८३, शुक्रबार १५:४२

काठमाडौँ। वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको प्रमुख आधार भएको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

छलफलका क्रममा इपानले ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्षेत्रमा देखिएका समस्या, अवसर र चुनौतीबारे सरकारको ध्यानाकर्षण गराएको थियो। त्यसमा शाहले उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन दिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा ऊर्जा क्षेत्रको समग्र विकास, जलविद्युत् आयोजना, ऊर्जामा निजी क्षेत्रको लगानी, उद्योग–व्यवसाय प्रवर्द्धन तथा त्यसमार्फत मुलुकको अर्थतन्त्र सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

इपानले विद्युत् खरिद सम्झौता (पीपीए) को सहजीकरण, रोकिएका आयोजना अघि बढाउने, प्रसारण लाइन तथा ग्रिड पहुँचको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया सरल बनाउने, अनुमतिपत्र नवीकरणमा सहजीकरण गर्ने तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्नुपर्ने विषय उठाएको थियो।

बैठकमा लगानी सुरक्षाको प्रत्याभूति र ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नवीन भण्डारी तथा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टीएन आचार्यलगायतको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*