गणेश नेपाली आत्मदाह घटना : पाँच सदस्यीय छानबिन समिति गठन, गृहमन्त्रीको भावुक अपिल

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बिहीबार गृहमन्त्री सुधन गुरुङले घटनाको जानकारी दिँदै डीआईजी थपलियाको नेतृत्वमा समिति गठन गरिएको बताएका हुन्। उनका अनुसार घटनाको छानबिन तथा सोधपुछका लागि काठमाडौं महानगर प्रहरीका तीन जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ।
संसद्मा बोल्न रोस्ट्रममा पुगेका गृहमन्त्री गुरुङ केहीबेर भावुक बनेका थिए। उनी आँखा रसाउँदै केही क्षण मौन बसेपछि आफ्नो धारणा राखेका थिए।
उनले संसद्मा आवाज उठाउँदैमा मात्र जनताको सेवा नहुने भन्दै व्यवहारमै सेवा गर्नुपर्ने बताएका छन्। “घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५० औँ वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ,” उनले भने, “आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्न। म आफ्नो देशको सेवा गर्न आएको हो।”
गृहमन्त्री गुरुङले घटनापछि आफू र आफ्नो टोली आवश्यक कदमबारे छलफलमा रहेको उल्लेख गर्दै घटनाको विषयमा आलोचना गर्ने सांसदहरूप्रति पनि प्रश्न उठाए।
“हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो, जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ?” उनले भने।











