काठमाडौंमा निजी गुठीको जग्गा रैकर बनाएर बिक्री, मालपोतका कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौंको साविक साङ्ला गाविस–९ स्थित निजी गुठीको जग्गालाई मिलेमतोमा रैकर निजी कायम गरी कित्ताकाट तथा बिक्री गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहित २७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार साविक साङ्ला गाविस–९ का कित्ता नम्बर १४९, १५४, १५५ र १५७ लगायतका जग्गा २०३६ सालदेखि नै निजी गुठीका रूपमा दर्ता रहेको अभिलेखमा उल्लेख थियो। तर अनुसन्धानका क्रममा जग्गाधनी दर्ता श्रेस्तामा रहेको ‘गुठी’ भन्ने शब्द जानीजानी मेटिएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट पुष्टि भएको छ।
यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागको विवरणअनुसार २०७५ सालमा विद्युतीय अभिलेख (एलआरआईएमएस) संशोधन गरी ‘निजी गुठी हटाइएको’ भन्ने कैफियत राखेर उक्त जग्गालाई रैकर निजी कायम गरिएको थियो। त्यसपछि नामसारी, जग्गाधनी दर्ता प्रमाणपत्र जारी तथा राजीनामामार्फत विभिन्न व्यक्तिको नाममा बिक्रीसमेत गरिएको अनुसन्धानबाट खुलेको छ।
अख्तियारका अनुसार मालपोत कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरूको मिलेमतोमा जग्गाधनी दर्ता श्रेस्तामा रहेको ‘निजी गुठी’ सम्बन्धी विवरण गैरकानुनी रूपमा हटाई अभिलेख किर्ते गरिएको, त्यसपछि नामसारी र राजीनामा पारित गरी गुठीको जग्गालाई निजी सम्पत्तिका रूपमा कारोबार गरिएको थियो।
यस प्रकरणमा अख्तियारले मालपोत कार्यालय, टोखा–सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनाल, मोठ फाँटका तत्कालीन नायब सुब्बा रामप्रसाद शर्मा ढकाल, तत्कालीन कम्प्युटर अपरेटर जयराम खत्री, नाजोराम भगत, तत्कालीन नायब सुब्बा कृष्णप्रसाद पोखरेल, तत्कालीन खरिदार रुद्रप्रसाद आचार्य, करारका कम्प्युटर अपरेटर जानुका सापकोटा तथा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार सूर्यराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यस्तै सुरेश प्रधान, शंकरमान प्रधान, पिपल प्रधान, राम प्रधान, कपिलबहादुर प्रधान, पुरुषोत्तम प्रधान र सुरेश ढकाललाई भ्रष्टाचारजन्य कार्यमा मतियार बनेको आरोपमा मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।
यसैगरी हाल जग्गा आफ्ना नाममा रहेको स्वर्गीय रमा थापाका हकवालाहरू रामहरी थापा, रोजनी महत, नारायणप्रसाद अधिकारी, हर्कनारायण श्रेष्ठ, राजु श्रेष्ठ, तुईभाई श्रेष्ठ, गीता सापकोटा, विष्णुकला श्रेष्ठ, सरोज विशुराल, राजेश श्रेष्ठ, सुनिता श्रेष्ठ र प्रेमकुमारी रिजाललाई भने जग्गाधनी दर्ता बदर गरी पुनः गुठी कायम गराउने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ।











