११ महिनामा वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा वाणिज्य बैंकले साढे ६४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको तथ्याङलाई हेर्दा १४ बैंकहरु बढेको छ भने ६ बैंकको नाफा घटेको छ ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो ११ महिनामा नाफा ३२.५२ प्रतिशतले बढाएर ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ०.९६ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा ११६८ प्रतिशतले बढेर ४ अर्ब ७० करोड पुगेको छ भने राष्ट्रिय वाणिज्यको ६८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।
जेठ मसान्तसम्मको अवधिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड, एभरेष्ट बैंकको २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड, प्राइम बैंकको २९ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एनएमबि बैंकको १९.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड, नेपाल बैंकको ८ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा भने सबैभन्दा कम रहेको छ ।












