यूएईदेखि टर्कीसम्म पठाइदिने भन्दै ठगी गर्ने पाँच जना प्रहरी फन्दामा

२८ असार २०८३, आईतवार १०:२०

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन्।

प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै पाँच लाख रुपैयाँ र सचिताले रोमानिया पठाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट सात लाख ९० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोप छ।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका–२, धनबहादुरलाई तारकेश्वर नगरपालिका–८, उमेशलाई टोखा नगरपालिका–५, सचितालाई काठमाडौं महानगरपालिका–३ र निरोजलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको जनाएको छ। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन्।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*