भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा

२८ असार २०८३, आईतवार १३:४४

काठमाडौं । वैदेशिक रोजगार विभागले कानुनी व्यवस्था उल्लंघन गर्दै नेपाली कामदारलाई भारतीय विमानस्थलबाट विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलोपटक सचेत गराएको हो।

विभागले २०८२ चैत १ देखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण संकलन गरी अनुगमन गरेको थियो। उक्त अवधिमा कामदारलाई स्वदेशी विमानस्थलबाटै पठाइएको छ वा छैन भन्ने विषयमा गरिएको जाँचका क्रममा भारतीय विमानस्थल प्रयोग भएको पुष्टि भएपछि कारबाही अघि बढाइएको विभागले जनाएको छ।

देशभर सञ्चालनमा रहेका १ हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्र विभागले मागेको विवरण बुझाएका थिए। बुझाइएका विवरणको परीक्षण गर्दा तीमध्ये १५९ कम्पनीले विभागको स्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरी श्रमिक विदेश पठाएको भेटिएको हो।

विभागले विवरण नै नबुझाउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ उल्लंघन गरेको ठहर गर्दै सचेत गराएको छ। ती कम्पनीलाई आवश्यक विवरण पुनः बुझाउन निर्देशनसमेत दिइएको विभागले जनाएको छ।

यसैबीच, पटक–पटक नियम उल्लंघन गर्ने आठ म्यानपावर कम्पनीमाथि भने विभागले थप कडा कारबाही गरेको छ। ती कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ। विभागका अनुसार तीन कम्पनीले पुनः भारतीय विमानस्थलबाट श्रमिक पठाएको भेटिएको थियो भने पाँच कम्पनीले विभागले मागेको विवरण नै उपलब्ध गराएका थिएनन्।

विभागले यसअघि २०८३ असार २६ गते सूचना जारी गर्दै श्रमिकलाई कुन विमानस्थलबाट विदेश पठाइएको हो भन्ने विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो। लामो समयदेखि भारतीय विमानस्थल प्रयोग गरी नेपाली कामदार विदेश पठाइने गरेको गुनासो आइरहेकाले अनुगमन प्रक्रिया अघि बढाइएको र त्यसकै आधारमा हालको कारबाही गरिएको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*