एकैपटक ६ देशमा इरानको मिसाइल र ड्रोन हमला

२८ असार २०८३, आईतवार १७:१४

काठमाडौँ ।  इरानले अमेरिकी हमलाको जवाफी कारबाहीस्वरूप पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा र रणनीतिक संरचनालाई लक्षित गर्दै आइतबार मिसाइल तथा ड्रोन हमला गरेको जनाएको छ। इरानले जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक स्थानलाई निशाना बनाएको दाबी गरेको हो।

यसअघि अमेरिकाले होर्मुज जलडमरूमध्यमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि इरानी आक्रमण भएको आरोप लगाउँदै इरानका करिब १४० सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इरानी आक्रमणका कारण उक्त जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको र चालक दलका केही सदस्य हराइरहेका छन्।

अमेरिकी आक्रमणपछि इरानले जोर्डनस्थित प्रिन्स हसन एयरबेस, कुवेतमा रहेका अमेरिकी प्याट्रियट एयर डिफेन्स प्रणाली र राडार साइट, बहराइनस्थित अमेरिकी सैन्य सञ्चार केन्द्र तथा कतार र यूएईमा रहेका अमेरिकी सैन्य संरचनामाथि मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।

यससँगै इरानले अर्को आदेश नआएसम्म होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको छ। उक्त निर्णयको अवज्ञा गर्ने जो–कोहीविरुद्ध कारबाही गरिने चेतावनी पनि इरानले दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*