ऋण असुली कमजोर बन्दा लघुवित्तको निष्क्रिय कर्जा दोहोरो अंकमा, कुनको कति ?

२८ असार २०८३, आईतवार १७:२६

काठमाडौँ ।  गरीब तथा विपन्न वर्गका नागरिकसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा (खराब कर्जा) उल्लेख्य रूपमा बढेको छ। ऋण असुली कमजोर बन्दै गएपछि लघुवित्त क्षेत्रको औसत निष्क्रिय कर्जा अनुपात ११ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ चैत मसान्तसम्म खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा अनुपात ११.३२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्त्य अर्थात् २०८२ असारसम्म यस्तो अनुपात ७ प्रतिशत थियो। यसअनुसार चालू आर्थिक वर्षको नौ महिनामै निष्क्रिय कर्जा ४.३२ प्रतिशत बिन्दुले बढेको हो।

२०७६ असारसम्म लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा करिब १ प्रतिशतको हाराहारीमा सीमित थियो। त्यसयता कोभिड–१९ महामारी, आर्थिक गतिविधिमा आएको सुस्ती, ऋणीहरूको आम्दानीमा आएको कमी तथा ऋण नतिर्ने अभियानका कारण ऋण असुली प्रभावित हुँदा निष्क्रिय कर्जा दोहोरो अंकमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

हाल नेपालमा ५१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन्। तीमध्ये तीनवटा थोक कर्जा प्रदायक र ४८ वटा खुद्रा कर्जा प्रवाह गर्ने संस्था हुन्। खुद्रा कर्जा कारोबार गर्ने ४८ संस्थामध्ये ४१ वटाको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ भने २८ वटाको १० प्रतिशतभन्दा बढी रहेको छ।

सबैभन्दा बढी निष्क्रिय कर्जा सञ्जीवनी लघुवित्त वित्तीय संस्थाको रहेको छ। उक्त संस्थाको निष्क्रिय कर्जा अनुपात शतप्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको उक्त संस्थामा नयाँ लगानीकर्ता प्रवेश गरेपछि गत पुसदेखि राष्ट्र बैंकले व्यवस्थापन छाडेको थियो।

निष्क्रिय कर्जा बढेसँगै पूँजीकोषसमेत तोकिएको न्यूनतम सीमाभन्दा तल झरेपछि आधा दर्जनभन्दा बढी लघुवित्त संस्था राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही (पीसीए) अन्तर्गत परेका छन्। राष्ट्र बैंकका अनुसार हाल नेरुडे मिर्मिरे, फर्वार्ड, सामुदायिक, नाडेप, आरम्भ चौतारी, गणपति, सिवाईसी नेपाल र अभियान लघुवित्त वित्तीय संस्था पीसीएमा रहेका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार सञ्जीवनीपछि सबैभन्दा बढी निष्क्रिय कर्जा भएका संस्थामा नेरुडे मिर्मिरे (२४.४९ प्रतिशत), इन्फिनिटी (२३.९३ प्रतिशत), धौलागिरी (२३.६२ प्रतिशत), जनउत्थान (२१.४५ प्रतिशत), नेष्डो समृद्ध (२१.३४ प्रतिशत), सिवाईसी नेपाल (१९.७० प्रतिशत), युनिक नेपाल (१९.५३ प्रतिशत), विजय (१८.९५ प्रतिशत) र फर्वार्ड (१८.९१ प्रतिशत) रहेका छन्।

त्यसैगरी मेरो (१८.८४ प्रतिशत), सूर्योदय (१७.९० प्रतिशत), नाडेप (१७.६८ प्रतिशत), एनआईसी एशिया (१६.५९ प्रतिशत), एनएमबी (१५.५० प्रतिशत), समता घरेलु (१५ प्रतिशत), गणपति (१४.२९ प्रतिशत), निर्धन उत्थान (१४.१४ प्रतिशत), कालिका (१३.९५ प्रतिशत), लक्ष्मी (१२.५९ प्रतिशत), स्वस्तिक (१२.३१ प्रतिशत), मिथिला (१२.०३ प्रतिशत), आत्मनिर्भर (११.१७ प्रतिशत), उन्नति सहकार्य (११.१२ प्रतिशत), स्वावलम्बन (१०.९४ प्रतिशत), सिर्जनशील (१०.३९ प्रतिशत), विन नेपाल (१०.१९ प्रतिशत) र हिमालयन (१०.०४ प्रतिशत) लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात पनि दोहोरो अंकमा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*