नेपाल बीमा प्राधिकरणद्वारा लघु निर्जीवन बीमकका प्रतिनिधिसँग कृषि बीमा तथा समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण लघु बीमा शाखाले लघु निर्जीवन बीमकलाई कृषि बीमा सफ्टेवयरमा जोड्न तथा लघुबीमा सम्बन्धी समसामयिक विषयमा छलफल गरेको छ । छलफल साउन १९ गते प्राधिकरणको सभाहलमा भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक, सुपरिवेक्षण महाशाखा प्रमुख, बीमालेख महाशाखा प्रमुख, सुचना प्रविधि शाखा प्रमुख, लघु, कृषि तथा सुचना प्रविधि शाखाका कर्मचारी, लघु निर्जीवन बीमकका प्रमुख कार्यकारी अधिकृत, बीमकका जोखिमाङ्कन शाखा प्रमुख तथा सुचना प्रविधि शाखा प्रमुख सहित उपस्थित भएको उक्त कार्यक्रममा लघु निर्जिवन बीमकले कृषि बीमालाई प्राथमिकताका साथ राखी अनिवार्य रुपमा जारी गर्नका लागि आवश्यक एएलआईएस सफ्टवेयरसँग बीमकको सफ्ट्वेयर जोड्ने गरी छलफल भएको थियो ।
प्राधिकरणका सूचना प्रविधि शाखाले बीमकको सूचना प्राविधिक शाखाका र जोखिमाङ्कन शाखाका कर्मचारीलाई सफ्टवेयर बारे बिस्तृत प्रस्तुतिकरण गर्दै जानकारी गराई बीमकले आफ्नो प्राविधिक प्रकृया पन्ध्र दिन भित्र पुरा गरी सफ्टवेयरमा लिन्क गर्ने भनी निर्णय गरिएको थियो । सो छलफलमा कृषि बीमा गर्न आवश्यक पर्ने कृषि बीमा मध्यस्थकर्ताको बीमकले गर्नुपर्ने व्यवस्थाको समेत छलफल भएको थियो ।
सोही कार्यक्रममा प्राधिकरणका लघुबीमा शाखा प्रमुखले लघु बीमा सम्बन्धि भएको अध्ययन प्रतिवेदनको सुझाव सम्बन्धि प्रस्तुततिकरण गरेका थिए । प्रस्तुतिकरण पश्चात प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले लघु बीमकले अनिवार्य गरिएको व्यवसाय मात्र नगरी व्यवसायलाई विविधिकरण गर्दे ग्रामिण तहसम्म पुगी लघुबीमाको मर्म बमोजिम ब्यवसाय गर्न, तोकिएको प्रदेशमै गई आफ्नो व्यवसाय गर्न, लघु बीमा सम्बन्धि अन्तरराष्ट्रिय फोरममा सहभागी भई लघुबीमाका नविनतम मोडलबारे बुझ्न, महिला लगायत समावेशी बीमालाई प्राथमिकता दिन साथै प्रतिवेदनको सुझावमा औंल्याएका विषयवस्तुलाई प्रभावकारी रुपमा कार्यावन्यन गर्न निर्देशन दिएका थिए ।
बीमकका प्रमुख कार्यकारी अधिकृतले निर्जीवन बीमा अभिकर्ताको कमिसन बढाउनुपर्ने, बीमालेख नविकरण गर्दा वा स्टक बृद्धिहुँदाको वखत बीमाङ्क रकम बढाउन पाउनु पर्ने, निर्जीबन बीमकले समेत सम्पत्तिबीमामा लघुको दरमा व्यवसाय गर्ने गरेको गुनासो, अन्य पोर्टफोलियोमा समेत बीमादरमा सहुलियत पाउनुपर्ने, बीमालेख स्वीकृत छिटो हुनुपर्नेजस्ता विषय उठाएका थिए ।
सो विषयलाई सम्बोधन गर्दै बीमालेख महाशाखा प्रमुखले बीमालेखका सम्पूर्ण शर्त प्रक्रिया पुरा गरि आए बीमालेख छिटो तथा समयमानै स्वीकृत भइरहेको र हुने, निर्जीबन बीमकले लघुको दरमा व्यवसाय गरेको गुनासो सम्बन्धमा निरीक्षण हुने बताउँदै प्राधिकरणले भर्खरै बन्यजन्तु जोखिम केन्द्रीत नबिनतम बीमालेख, व्यवसाय सुरक्षा स्तरिकृत लघुबीमालेख तथा ठेकेदार सम्पूर्ण जोखिम स्तरिकृत लघु बीमालेख जारी गरेकाले सो बीमालेख लक्षित वर्गमा रक्षावरण हुने गरी बीमा गर्न सकिने बताउँदै लघु निर्जीवन बीमकलाई समेत कृषि बीमा अनुदान कार्यक्रममा जोडिसकिएकाले यथाशिघ्र सफ्टवेयर लिन्क गरी कृषि बीमा गर्न निर्देशन दिएका थिए ।











