सप्त कुमार हुमागाईंको अध्यक्षतामा सिटिजन लाइफ पेशागत बीमा अभिकर्ता संघ गठन

२४ श्रावण २०८३, आईतवार १७:१६

काठमाडौं । सफल बीमा व्यवसाय, सक्षम अभिकर्ता र संगठित पेशागत हितलाई मुख्य लक्ष्य बनाउँदै ‘सिटिजन लाइफ पेशागत बीमा अभिकर्ता संघ, नेपाल’ गठन भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्टुरेन्टमा आज साउन २४ गते आइतबार आयोजित प्रथम अधिवेशन भेलाले सप्त कुमार हुमागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

‘सफल बीमा व्यवसाय सक्षम अभिकर्ता संगठित पेशागत हित हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजित भेलाको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। उक्त कार्यक्रमको संयोजन मनमाया श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै दीपक अर्यालले बीमा अभिकर्ताले सम्भावनालाई अवसरमा बदल्न सक्नुपर्ने बताए। उनले व्यावसायिक अभिकर्ता निर्माण, अभिकर्ताको क्षमता विकास र पेशागत अधिकार संरक्षणका लागि संघ गठन गरिएको स्पष्ट पारे।

“अभिकर्ताले सम्भावना नै सम्भावना देखेको हुन्छ। असल लिडर बन्ने र नयाँ लिडर तयार गर्ने काम संगठनले गर्छ,” अर्यालले भने। उनले बीमा क्षेत्रमा हुने मिस सेलिङ र मिस गाइडिङ जस्ता गतिविधिलाई नियन्त्रण गर्दै गुणस्तरीय अभिकर्ता निर्माण गर्न संघले भूमिका खेल्ने बताए।

उनले कम्पनीविरुद्ध नभई कम्पनीलाई थप मजबुत बनाउन र अभिकर्ताका जायज मागलाई संस्थागत रूपमा उठाउन संघ गठन गरिएको उल्लेख गरे। अभिकर्तालाई बीमा व्यवसायको मेरुदण्ड भनिए पनि नीति निर्माण गर्दा उनीहरूसँग पर्याप्त छलफल नहुने प्रवृत्तिमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

“कम्पनी र अभिकर्ताबीच सहकार्यको वातावरण बन्नुपर्छ। अभिकर्ता पनि लगानीकर्ता हुन्। आफ्नो परिवारको बीमा गर्ने, बीमितको नवीकरणमा सहयोग गर्ने लगायतका माध्यमबाट उनीहरूले योगदान गरिरहेका छन्,” अर्यालले भने।

उनले चुनौतीलाई अवसरमा परिणत गर्दै अभिकर्ताले आफूलाई व्यावसायिक पहिचानका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए। सरकारलाई सबैभन्दा बढी राजस्व योगदान गर्ने क्षेत्रका रूपमा बीमा उद्योगलाई स्थापित गर्न सकिने उनको भनाइ थियो।

अधिवेशन दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा बीमा क्षेत्र, अभिकर्ताको पेशागत हकहित तथा संघको उद्देश्यबारे छलफल भएको थियो भने दोस्रो चरणमा निर्वाचन मण्डल गठन गरी नयाँ नेतृत्व चयन गरिएको थियो।

दीपक अर्यालको संयोजकत्वमा गठित निर्वाचन मण्डलले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षलगायत पदमा पदाधिकारी चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सप्त कुमार हुमागाईं सर्वसम्मत चयन भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा निरु केसी अधिकारी चयन भएकी छन्।

उपाध्यक्षहरूमा पारस कुमार विष्ट, डम्मर बहादुर लामा, सुनिता भेटवाल, टीका दाहाल सिग्देल, राधा कोयु र दीपक राज भण्डारी चयन भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा निता रोक्का, सचिवमा गोमा कुमारी रिजाल, सहसचिवमा निलम सिंह ठकुरी र सुशीला बजगाईं चयन भएका छन्।

सदस्यहरूमा एक बहादुर गुरुङ, चुडामणि शर्मा, दया ढकाल, लक्ष्मी सुवेदी, विष्णु देवी शर्मा, अग्र बहादुर बिष्ट, सीता चौलागाईं, यम बहादुर छन्त्याल, ईचमेली थापा, प्रमिला पाण्डे र लक्ष्मण भण्डारी चयन भएका छन्।

नवनिर्वाचित समितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम पनि आजै सम्पन्न भएको छ। पहिलो बैठकबाट संघले पाँच जना सल्लाहकार समेत मनोनयन गर्ने व्यवस्था गरिएको छ।

नव निर्वाचित संघले बीमा अभिकर्ताको पेशागत क्षमता अभिवृद्धि, अधिकार संरक्षण, बीमा क्षेत्रको सुधार र अभिकर्तामैत्री वातावरण निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*