१८ करोडको नोक्सानी व्यहोरेको नेरुडे मिर्मिरे लघुवित्तले कमायो साढे २३ करोड नाफा

२५ श्रावण २०८३, सोमबार ०८:०५

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा निकै ठूलो नोक्सानी व्यहोरेको यस संस्थाले गत वर्ष भने उत्साहजनक रूपमा नाफा आर्जन गर्दै आफूलाई मजबुत बनाउन सफल भएको हो ।

विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको यस संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा २३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सञ्चालन मुनाफामा आएको सुधारले नै नाफा कमाउन सम्भव भएको हो । अघिल्लो वर्ष २० करोड १० लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको यस कम्पनीले गत वर्ष ३२ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

कम्पनीको खराब कर्जा (एनपीएल) मा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ३१.६४ प्रतिशत पुगेको खराब कर्जा गत वर्षको अन्त्यसम्ममा १९.८६ प्रतिशतमा झरेको छ । खराब कर्जा घट्दा कम्पनीको सम्भावित जोखिमका लागि छुट्याइएको रकम पनि घटेसँगै खुद नाफा सकारात्मक प्रभाव देखिएको हो । यद्यपि कम्पनीको खुद ब्याज आम्दानीमा भने अघिल्लो वर्षको तुलनामा केही गिरावट आएको छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष घटेर १ अर्ब २९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठूलो सुधार भएको छ । अघिल्लो वर्ष १३.०६ रुपैयाँ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी गत वर्ष १६.८८ रुपैयाँ धनात्मक बनेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १८६.५९ रुपैयाँ पुगेको छ । हाल १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब २१ करोड ३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले १९ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरी ७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको वितरणयोग्य मुनाफा अझै पनि १२ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*