गोर्खाज फाइनान्सको वित्तीय पुनरागमनः १२ करोडको घाटा पुर्दै झण्डै २२ करोड नाफा आर्जन

काठमाडौं । कुनै समय वित्तीय संकट र खराब कर्जाको दलदलमा फरेको गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा चामत्कारिक पुनरागमन गरेको छ। संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको ठूलो नोक्सानीलाई पूर्ती गर्दै फाइनान्सले लोभलाग्दो नाफा कमाउन सफल भएको हो।
वित्तीय विवरण अनुसार गोर्खाज फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो असार मसान्तसम्म संस्था १२ करोड १४ लाख रुपैयाँ खुद घाटामा रहेको थियो।
नाफामा आएको यो सुधारसँगै संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २५ रुपैयाँ २८ पैसा पुगेको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा ऋणात्मक थियो। नाफासँगै संस्थाको प्रतिशेयर नेटवर्थ पनि १६६ रुपैयाँ ३२ पैसा कायम भएको छ।
संस्थाको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। अघिल्लो वर्ष २९ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ३१ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यसैगरी अघिल्लो वर्ष १४ करोड २७ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको फाइनान्सले यस वर्ष ३६ करोड ९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
कम्पनीको निक्षेप संकलनमा सामान्य गिरावट आए पनि कर्जा लगानी भने विस्तार भएको देखिन्छ। अघिल्लो वर्ष ९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप रहेकोमा यस वर्ष ९ अर्ब ३८ करोडमा झरेको छ भने कर्जा प्रवाह ५ अर्ब ७१ करोडबाट बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको खराब कर्जा (एनपीएल) मा पनि सुधार देखिएको छ। अघिल्लो वर्ष १७.४६ प्रतिशत पुगेको खराब कर्जा गत वर्ष घटेर १३.३२ प्रतिशतमा आएको छ। यद्यपि यो अझै उच्च विन्दुमा रहेकाले ऋण असुलीलाई अझै प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। संस्थाले सम्भावित जोखिमका लागि छुट्याएको इम्पेयरमेन्ट चार्जमा पनि उल्लेख्य कमी आएको छ।
कुल चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ सञ्चित छ। तर वितरणयोग्य नाफा भने अझै ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक देखिन्छ। अघिल्लो वर्ष संस्थाको वितरणयोग्य मुनाफा ७० करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।











