नेपाल लाइफले कमायो साढे ४६ करोड नाफा, जीवन बीमाकोष २ खर्ब ७३ अर्बमाथि

२८ श्रावण २०८३, बिहीबार ०६:२८

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रको अग्रणी कम्पनीका रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त विवरणअनुसार कम्पनीले गत आवमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि यो अघिल्लो आवको ५४ करोड ७६ लाख रुपैयाँको तुलनामा १५ प्रतिशतले घटेको हो। आम्दानीमा वृद्धि भए तापनि कम्पनीको खर्च बढेका कारण नाफामा दबाब परेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँबाट १२.१४ प्रतिशतले बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ६८ अर्ब ३० करोड ८४ लाख रुपैयाँबाट ८.८२ प्रतिशतले बढेर ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको कुल खर्चमा पनि वृद्धि भएको देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ६४ अर्ब २६ करोड ३३ लाख रुपैयाँबाट १०.१२ प्रतिशतले बढेर ७० अर्ब ७६ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ५ प्रतिशतले बढेर ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोष ३.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ६४.६१ प्रतिशतले घटेर ७९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। यसै अवधिमा कम्पनीको जीवन बीमाकोष १७ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.०७ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*