वित्तीय विवरणमा झल्कियो सानिमा रिलायन्स लाइफको प्रगति, नाफा बढ्यो, जीवन बीमाकोषमा ३० प्रतिशत बृद्धि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उत्साहजनक प्रगति देखिएको जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको थियो । नाफामा देखिएको यो सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि बढोत्तरी भई ७ रुपैयाँ ६५ पैसा कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा मात्र थियो ।
कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार मानिने खुद बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आर्थिक वर्षमा १६ प्रतिशतभन्दा बढीले वृद्धि गर्दै ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट हुने आय ४.४६ प्रतिशतले घटेर १ अर्ब ५० करोड ६५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ थियो । कुल आम्दानीका हिसाबले हेर्दा कम्पनीले ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ जुन अघिल्लो वर्षको ८ अर्ब ६९ करोड १६ लाख रुपैयाँको तुलनामा आकर्षक बढोत्तरी हो ।
अघिल्लो वर्ष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष उल्लेख्य मात्रामा बढेर २५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ति पनि २६ अर्ब ५७ करोडबाट बढेर ३२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा रहेको छ भने सोल्भेन्सी अनुपात १.५७ कायम भएको छ । चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोष १४ करोड ७८ लाख रुपैयाँबाट १८ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ५३ करोड २७ लाख रुपैयाँबाट घटेर ३५ करोड ९८ लाख रुपैयाँमा झरेको छ ।











