नेपाल लाइफ र एलआईसी नेपालबीच तुलनाः व्यवसायमा नेपाल लाइफ अगाडि, प्रतिशेयर आम्दानीमा एलआईसीको अग्रता

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रका दुई प्रमुख कम्पनीहरू नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार व्यवसायको आकार, बीमा शुल्क संकलन, जीवन बीमा कोष, लगानी तथा दाबी भुक्तानीजस्ता प्रमुख सूचकमा नेपाल लाइफ अगाडि देखिएको छ । यद्यपि प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थमा भने एलआईसी नेपालले अग्रता लिएको छ ।
गत आवमा नेपाल लाइफको नाफा अघिल्लो आवको तुलनामा १५ प्रतिशतले घटेको भए तापनि खुद बीमाशुल्क लगायत आम्दानीमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ । यता एलआईसी नेपालले आफ्नो खुद नाफा साढे २८ प्रतिशतले बढाउँदै आफूलाई अब्बल साबित गरेको छ । दुई कम्पनीबीचको तथ्याङ्कलाई सूक्ष्म ढङ्गले केलाउँदा व्यापारको आकारमा नेपाल लाइफले आफ्नो वर्चस्व कायम राखेको देखिन्छ भने प्रतिशेयर आम्दानी र नेटवर्थ जस्ता सूचकमा एलआईसी नेपाल अगाडि रहेको देखिन्छ ।
खुद नाफा र खुद बीमाशुल्क संकलन
नाफा आर्जनमा नेपाल लाइफले एलआईसी नेपाललाई उछिनेको छ । नेपाल लाइफले समीक्षा अवधिमा ४६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ भने एलआईसी नेपालको नाफा ४० करोड ५७ लाख रुपैयाँ रहेको छ । व्यवसाय विस्तारको मुख्य कडी मानिने खुद बीमा शुल्क संकलनमा नेपाल लाइफ निकै अगाडि देखिएको छ । नेपाल लाइफले ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा एलआईसी नेपालले २१ अर्ब १४ करोड ५४ लाख रुपैयाँ रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ ।
खुद दाबी भुक्तानी
बीमितलाई दिइने भुक्तानीमा नेपाल लाइफले ६२ अर्ब ८४ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ भने एलआईसी नेपालले २७ अर्ब ८६ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कुल आम्दानी र खर्च
आम्दानी र खर्च दुबैमा नेपाल लाइफ अगाडि रहेको छ। नेपाल लाइफको कुल आम्दानी ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ र कुल खर्च ७० अर्ब ७६ करोड ६३ लाख रुपैयाँ छ भने एलआईसी नेपालको कुल आम्दानी ३३ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ र कुल खर्च ३० अर्ब ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ।
चुक्ता पूँजी
नेपाल लाइफको चुक्ता पूँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको छ भने एलआईसी नेपालको ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पूँजीगत आधारमा नेपाल लाइफ एलआईसीभन्दा बलियो अवस्थामा रहेको छ ।
लगानी
लगानीका हिसाबले नेपाल लाइफले २ खर्ब ४१ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ बजारमा परिचालन गरेको छ । यता एलआईसी नेपालले भने १ खर्ब ३१ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।
जीवन बीमा कोष
जीवन बीमा कोषको आकारमा पनि नेपाल लाइफकै दबदबा रहेको छ । नेपाल लाइफको कोषमा २ खर्ब ७३ अर्ब ५५ करोड ९१ लाख रुपैयाँ जम्मा भएको छ जुन एलआईसी नेपालको १ खर्ब ४६ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको तुलनामा झण्डै दोब्बर हो ।
प्रतिशेयर आम्दानी र नेटवर्थ
लगानीकर्ताका लागि महत्वपूर्ण मानिने प्रतिशेयर आम्दानीमा भने एलआईसी नेपालले उछिनेको छ । एलआईसी नेपालको प्रतिशेयर आम्दानी ७.३८ रुपैयाँ रहँदा नेपाल लाइफको ४.९१ रुपैयाँ मात्र सीमित भएको छ । नेटवर्थमा पनि एलआईसी नेपाल बलियो देखिएको छ । एलआईसी नेपालको प्रतिशेयर नेटवर्थ १७७.८७ रुपैयाँ छ भने नेपाल लाइफको १२६.०७ रुपैयाँ रहेको छ ।
अभिकर्ता कमिसन र पोलिसीहोल्डर लोन
व्यवसाय ल्याउन अभिकर्तालाई दिइने कमिसनमा नेपाल लाइफले ४ अर्ब १२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ भने एलआईसी नेपालले १ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै नेपाल लाइफले बीमितको पोलिसी धितोमा राखेर ३४ अर्ब ३२ करोड ४० लाख रुपैयाँ कर्जा दिएको छ भने एलआईसी नेपालले २० अर्ब २६ करोड ९२ लाख रुपैयाँ कर्जा दिएको छ।
सल्भेन्सी मार्जिन
वित्तीय जोखिम वहन गर्ने क्षमता बुझाउने सल्भेन्सी मार्जिन रेसियोमा एलआईसी नेपाल (१.६१%) नेपाल लाइफ (१.५४%) भन्दा केही सहज अवस्थामा देखिएको छ ।
नेपाल लाइफले ठूलो व्यवसाय, बलियो जीवन बीमा कोष र उच्च लगानीमार्फत आफ्नो बजार नेतृत्वलाई निरन्तरता दिएको छ भने एलआईसी नेपालले तुलनात्मक रूपमा कम व्यवसायिक आकारबाट पनि प्रतिशेयर आम्दानी र नेटवर्थमा राम्रो प्रदर्शन गरेको छ ।
नोटः माथि उल्लेखित समाचार दुई कम्पनीबीचको तुलनात्मक विश्लेषण मात्रै हो कारोबारका लागि सिफारिस गरेको होइन ।











