चौथो त्रैमाससम्म आइपुग्दा यस्तो देखियो मेट लाइफको वित्तीय अवस्था

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको व्यवसाय विस्तार र कोष व्यवस्थापनमा सकारात्मक संकेत देखाए पनि नाफामा भने केही संकुचन आएको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा मेट लाइफको जीवन बीमा कोष १४.३० प्रतिशतले बढेर ३३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो कोष २९ अर्ब १२ करोड ५३ लाख रुपैयाँमा सीमित थियो । त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन पनि अघिल्लो वर्षको ६ अर्ब १ करोड ३ लाख रुपैयाँबाट ९.५४ प्रतिशतले वृद्धि भई ६ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

व्यवसायिक आकार बढे पनि कम्पनीको खुद नाफामा भने ५५.२९ प्रतिशतको उल्लेख्य गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्ष ८४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३७ करोड ९२ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । कुल खर्च अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेर ८ अर्ब ८१ करोड ७४ लाख रुपैयाँ पुग्नु र कुल दाबी भुक्तानीमा पनि १२.९३ प्रतिशतको वृद्धि भई ३ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ पुग्नुले नाफामा दबाब सिर्जना गरेको हो ।
कम्पनीको महाविपत्ति कोष ६.१९ प्रतिशतले बढेर ६४ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९.५३ प्रतिशतले घटेर २ अर्ब ५९ करोड १८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको सोल्भेन्सी रेसियो २.०८ मा स्थिर रहेको वित्तीय विवरणले देखाएको छ ।











