नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड २०८३ काठमाडौं भव्य रुपमा जारी, आज के भयो ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०८३’ काठमाडौंको होटल याक एन्ड यतीमा भव्य रूपमा जारी छ । देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका बीमा अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागितामा कम्पनीले दुईदिने विशेष कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा देशभरका ६०० भन्दा बढी बीमा अभिकर्तासँगै विभिन्न शाखा कार्यालयका प्रमुख तथा कर्मचारी, मार्केटिङ विभागका कर्मचारी र कम्पनीका विभागीय प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिको योगदानको सम्मान र आगामी दिनका लागि थप उत्साह प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
भदौ ७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा देशका विभिन्न जिल्लाबाट उत्कृष्ट व्यवसाय गरेका बीमा अभिकर्ताहरू काठमाडौंमा भेला भएका छन् । लामो समयदेखि बीमा व्यवसायमा सक्रिय अभिकर्तादेखि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्न सफल अभिकर्ताहरू पनि उक्त कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रमको दोस्रो दिन आज विभिन्न विधा तथा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने बीमा अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । निर्धारित लक्ष्य पूरा गर्दै कम्पनीको व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्याएका अभिकर्ताहरूलाई उनीहरूको मेहनत र उपलब्धिको कदर गर्दै पुरस्कृत गरिएको हो । अभिकर्ताहरूले ग्राहकसम्म बीमाको पहुँच विस्तार गर्न तथा कम्पनीको व्यवसायलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले आफूले गरेको मेहनतको सम्मान हुँदा आगामी दिनमा अझ राम्रो काम गर्ने ऊर्जा प्राप्त भएको बताएका छन् । कम्पनीले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई सार्वजनिक रूपमा सम्मान गर्दा अन्य अभिकर्तालाई पनि आफ्नो लक्ष्य पूरा गर्न थप प्रेरणा मिल्ने बताएका हुन् ।
लिडरशिप एक्सिलेन्स अवार्ड मार्फत नेपाल लाइफले बीमा व्यवसायमा नेतृत्व क्षमता, उत्कृष्ट कार्यसम्पादन र निरन्तर मेहनतलाई प्राथमिकता दिंदै आएको छ । कार्यक्रमले कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनमा व्यवसाय विस्तारका लागि नयाँ ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
दुई दिनदेखि जारी कार्यक्रममा सम्मान, पुरस्कार तथा विभिन्न प्रस्तुतिसँगै बीमा व्यवसायको वर्तमान अवस्था, आगामी सम्भावना र कम्पनीको भावी रणनीतिबारे समेत छलफल भइरहेको छ । देशभरबाट आएका अभिकर्ता तथा कर्मचारीहरूले एकअर्कासँग आफ्ना अनुभव समेत आदानप्रदान गरिरहेका छन् । अभिकर्ता तथा कर्मचारीहरूले आज पनि नाचगान गर्दै खुसी मनाइरहेका छन्। नेपाल लाइफले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा कर्मचारीलाई प्रोत्साहन गर्दै बीमाको पहुँच थप विस्तार गर्ने र ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिंदै आएको छ ।










